नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीले बेनी नगरपालिका– ७ मंगलाघाट र जलजला गाउँपालिका– ३ बगरफाँटको बस्ती उच्च जोखिममा परेको छ ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि मंगलाघाट र कालिगण्डकीको कटान रोकथाम गर्न बगरफाँटमा सुरु भएको मेसिनरी पर्खाल निर्माण योजनामा ढिलाइ भएको हो । बर्खासँगै नदीमा पानीको सतह बढेर किनारमा बनाइएको संरचना भत्काएर बस्तीतर्फ कटान सुरु गरेको छ ।

“नयाँ पर्खाल लगाउन पहिलेको तटबन्ध भत्काए तर काम गरेनन्, नदीमा पानीको सतह बढेपछि निर्माण व्यवसायीले काम छाडेर सम्र्पकविहीन बनेका छन्,” बेनपा– ७ का वडा सदस्य शेरबहादुर केसीले भने, “समयमै काम नहुँदा मंगलाघाट बस्ती कटानको उच्च जोखिममा परेको छ ।”

गत चैतदेखि सुरु भएको करिब एकएक सय मिटर पर्खाल लगाउने काम आधा पनि सकिएको छैन । दुई सयभन्दा बढी घरधुरी उच्च जोखिममा छन् । गत बुधबार बगरफाँटमा ढलानको तयारीका लागि राखेको निर्माण सामग्री बाढीले बगाएको थियो ।

कार्यक्षेत्रमा ढलानका लागि राखेको रड, गिट्टी, बालुवा, पलाईउड, खम्बा, टेकाहरू बाढीले बगाउँदा पन्ध्र लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीका सञ्चालक बाबुलाल कार्कीले बताए ।

“सम्झौताको समय अझै दुई महिना बाँकी छ तर काम गर्दा गर्दै नदीमा बाढी आएर समस्या बनायो,” कार्कीले भने, “गुफाटोलमा ६० मिटर पक्कि पर्खाल बनाउने काम अन्तिम चरणमा पुगेको छ ।” दुई ठाउँको काम गर्न जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयसँग कालिगण्डकी निर्माण सेवाले ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

मंगलाघाटस्थित म्याग्दी नदी किनारमा ५ मिटर अग्लो र ७२ मिटर लम्बाइ भएको मेसिनरी पर्खाल निर्माणका लागि पोखराको बिजी कन्ट्रक्सनले ४६ लाख २० हजार रुपैयाँमा सम्झौता गरेको थियो । बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ ।

योजना निर्माणमा भएको ढिलाइ र कटानको जोखिम न्यूनीकरणका लागि तत्काल पहल थाल्न विपद् व्यवस्थापन समितिको बैठकमा समेत छलफल भएको र आफूहरूले पहल गरेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।