विरामी भएर पोखरामा उपचार गराईरहेका श्रीमानलाई भेट्न हिँडेकी श्रीमति काठमाण्डौ पुगेर बेपत्ता भएपछि एक यूवाले श्रीमति खोज्न काठमाण्डौ जान म्याग्दीको सदरमुकाम बेनीमा आर्थिक जुटाएका छन् ।

पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ सल्यानकी करिब २३ बर्षिय शान्ति दर्जी एक साता अघिदेखि काठमाण्डौबाट सम्पर्कविहिन भएपछि उनका श्रीमान सन्ते दर्जी जीवनसाथीको खोजीमा सहयोग गर्न अपिल गदैं यातायात भाडा र काठमाण्डौमा खोजीकार्यका लागि पैसा आवश्यक रहेको बताए । ‘काठमाण्डौमा खोजेर फर्कन्छु । समस्या सुनाएपछि सबैले सहयोग गरेका छन’ दर्जीले भने ।

श्रीमान विरामी भएपछि बसमा पोखरा हिडेकी शान्ति कहिल्यै पोखरा नगएको र सोधखोज नगरेको कारण उनी पोखरा भन्दै काठमाण्डौमा पुगेकी थिईन् । उनी नजीक रहेका व्यक्तिसंग फोनमा कुराकानी गर्दा उनी काठमाण्डौ पुगेको पत्ता लागेपनि एक सातादेखि मोवाईल फोन समेत बन्द भएको र उनी समेत घरमा नआएपछि खोजीकार्य सुरु भएको हो ।

राम्रोसंग घरपरिवारको फोन नम्बर भन्न नसक्ने र अरु व्यक्तिहरुसंग बोल्न समेत डराउने र उनले मोवाईलको चार्जर समेत नलगेको कारण मोवाईल बन्द भएपछि उनी कहाँ छिन भन्ने कुरा पक्ता लगाउन कठिन भएको छ । उनका श्रीमान सन्तेले मिलनचोक प्रहरी मार्फत आफ्नो श्रीमतीलाई खोजी गर्न आग्रह गरेको बताए ।

आर्थिक रुपमा विपन्न रहेका दर्जी दम्पतीले बेनीमा पत्रपत्रिका बाँड्ने, भारी बोक्ने काम गरि जिविकोपार्जन गर्दै आएका छन् । उनले आफ्नो श्रीमती चलाख नभएको र धेरै बोल्न नसक्ने र बजारमा ठाउँ पहिचान गर्न नसक्ने भएकाले देख्ने जो कसैलाई पनि प्रहरी मार्फत आफ्नो घरमा फकाईदिन अनुरोध गरेका छन् ।