म्याग्दीको दुर्गम  विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालय कृषि शिक्षाका लागि देशकै नमूना प्राविधिक शिक्षालयको रुपमा चिनिन थालेको छ । २०६९ सालबाट सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी संचालन हुँदै आएको सो शिक्षालयमा सुर्खेत,जुम्ला,हुम्ला,मुगु,चितवन,कास्की,बागलुङ लगाएत देशका १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आएका छन् । शिक्षालयमा १८ महिने जेटिए र ३ वर्षे आइ.एस.सी. (एजी) तहको पढाई संचालन भएको छ ।

मासिक ५ हजार रुपैयाँमा आवासीय सुविधा सहित पठनपाठन हुने प्राविधिक शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जङ्गवहादुर गर्वुजाले बताउनुभयो । स्थानीय स्रोतको भरमा तीन जना शिक्षकहरुलाई तलव खुवाएर शिक्षालय संचालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा रहेका विमवासीको सहयोगमा शिक्षालय संचालन भइरहेको शिक्षालयका प्रमुख गर्वुजाले बताउनुभयो ।

विद्यार्थीहरुलाई प्रयोगात्मक विधिद्धारा शिक्षण गराइदै आएको र ‘देशको समृद्धि व्यवसायिक कृषि’ भन्ने मूल उद्धेश्यका साथ  कृषि प्राविधिक शिक्षालय संचालन गरिएको प्रमुख गर्वुजाको भनाइ रहेको छ । हुम्लाबाट अध्ययनका लागि विममा आएका किशोर बूढाले नेपालका कृषि प्राविधिक शिक्षालयमध्ये किसानी प्राविधिक शिक्षालय उत्कृष्ट रहेको दावि गर्नुभएको छ ।

‘यहाँको शिक्षण विधि,प्रयोगात्मक शैली, वातावरण,ग्रामिण परिवेश र सुविधाहरु सबै उत्कृष्ट र विद्यार्थी अनुकुल छन्,’बूढाले भन्नुभयो ।  शिक्षालयले एक शैक्षिक सत्रका लागि जेटिए तर्फ ४० जना र आइ.एस.सी (एजी)तर्फ ४० जना गरी ८० जना विद्यार्थीलाई भर्ना लिने गरेको छ । हालसम्म जेटिएतर्फबाट १६० जनशक्ति उत्पादन भई सवै सरकारी तथा गैरसरकारी संस्थाहरुमा रोजगार भइसकेको प्रधानाध्यापक गर्वुजाले बताउनुभयो । शिक्षालयले साउन १७ गते आइ.एस.सी (एजी) तर्फ प्रवेश परीक्षा लिई ४० जनालाई छनोट गरेको छ । प्रवेश परीक्षा दिनका लागि देशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु विममा आएका थिए । धु्रबसागर शर्मा