लाम्पाटाको अवरुद्ध पन्छाउन समस्या, भीरबाट जोखिम मोलेर वारपार

0
226

म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तरगत मंगला गाउँपालिका–२ लाम्पाटामा पहिरो खस्ने क्रम नरोकिदाँ अवरुद्ध पन्छाउने समस्या देखिएको छ । पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकालाई जोड्ने सडकखण्ड अवरुद्ध हुदाँ यात्रुले सास्ती भएपछि मंगला गाउँपालिकाले अवरुद्ध हटाउन प्रयास गरिएपनि पहिरोको माथिल्लो भागमा रहेको ढिस्को खस्न सक्ने सम्भावना भएपछि समस्या भएको प्रमुख सत प्रसाद रोकाले बताए ।

‘निरन्तर प्रयास गरिरहेका छौ, माथीबाट पहिरो आइरहेको अवस्थामा प्राविधिकले सम्भव नभएको बताएपछि स्थगित भएको छ’ रोकाले बेनीअनलाइनलाई भने। उनले सडक अवरुद्ध भएपछि पश्चिम क्षेत्रमा जाने यात्रुलाई पहिरोको माथिल्लो क्षेत्रबाट आवतजावतको ब्यवस्था गर्ने अस्थायी बाटो बनाउने प्रयास थप पहिरो खस्ने सम्भावना रहेकाले त्यो पनि असफल भएको बताए ।

उनले पहिरोस्थल माथिबाट घाँसको साहराले जोखिमपुर्ण तरिकाले आवतजावत गर्नुपर्ने बाध्यता रहेको बताउँदै जोखिम न्यूनिकरणको प्रयासमा छलफल भइरहेको बताए । पैदलयात्राको विकल्पको रुपमा मंगला क्याम्पसको झोलुङ पुल देखी अर्मन हुदै यात्रा गर्न सकिने भएपनि लाम्पाटा नजिकसम्म सवारीसाधन पुग्ने भएकाले यात्रुले जोखिम मोलेर पहिरोको माथिल्लो भीर र पहिरोस्थलबाटै बाट वारपार गर्ने गरेको बावियाचौरका स्थानीय केशव कँडेलले बताए ।

बेनी देखी दरवाङसम्म २४ किलोमिटरको सडक खण्ड अन्र्तरगत बेनपा ४ फापरखेतको अवरुद्ध हटाइएको छ । जिल्ला समन्वय समितिले बर्षेनी लाम्पाटा र फापरखेतको पहिरोमा करोडभन्दा धेरै बजेट खर्च गर्ने गरेको भएपनि सरकारी अपरिपक्कता र पहिरो नियन्त्रणको दिर्घकालिन योजना बनाउन नसक्दा रोकथामको प्रयास असफल हुने गरेको छ । सडक अवरुद्ध हुदाँ पश्चिम म्याग्दीका साथै बागलुङको तमान, लाम्मेला लगाएतका गाउँमा जोन यात्रु समेत समस्यामा परेका छन् ।