मंगला गाँउपालिकामा सुरु भयो घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

0

स्थानीय तहको निर्वाचनमा दुर्गम बस्तीका चुनावी सभामा सतप्रसाद रोकाले सामाजिक सुरक्षा भत्तालाई गाउँमै वितरण गर्ने मतदातालाई प्रतिबद्धता जनाउँदा धेरैले सस्तो लोकप्रियताको आरोप लगाए । सरकारले वडा सचिवले वितरण गर्ने भत्तालाई बैकिङ प्रणालीबाट उपलब्ध गराउने ब्यवस्था गरेकाले गाउँमै पुगेर वितरण गर्न चुनौतीपूर्ण र झन्झटिलो हुने भन्दै आलोचना समेत सुनेका मंगला गाउँपालिका प्रमुखले सबै चुनौतीलाई सहज ब्यवस्थापन गदै गाउँपालिकका बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेका छन् ।

बावियौचारमा रहेको गरिमा विकास बैंकबाट वितरण हुने भत्ताको आवश्यक बैकिङ प्रक्रिया पुरा गरी गाँउपालिका–५ अर्मनको नेटा, धारा, अर्मन, पार्खक, किमचौरमा रहेका एकल महिला, दलित, अपाङ्ता र जेष्ठ नागरिकलाई बैंकका कर्मचारीको उपस्थितीमा भत्ता वितरण सुरू गरेका छन् । अर्मनका वडा अध्यक्ष भुपेन्द्र बहादुर केसी, कार्यपालिका सदस्य रत्न बहादुर विक, महिला सदस्य सुसिकला फगामी र वडा सदस्य चन्द्र बहादु्र फगामी, गरिमा विकास बैंक बावियाचौर शाख प्रमुख प्रकाश ओझा लगाएतको उपस्थितिमा ८९ जनालाई ६ लाख ४६ हजार भत्ता वितरण गरिएको थियो ।

‘घरदैलोमै भत्ता पाएपछि सबै उत्साहित हुनुभएको थियो, यसलाई भविस्यमा पनि निरन्तरता दिनेछौ’ गाउँपालिका प्रमुख रोकाले बेनीअनलाइनलाई भने। उनका अनुसार प्रक्रिया भन्झटिलो भएपनि जनतालाई घरदैलोमै पुगेर सेवा उपलब्ध गराउँदा खुसी लागेको बताए । भत्ता वितरणको क्रममा बृद्धबृद्धाले जनप्रतिनिधिलाई धन्यवाद दिएका थिए । गाउँपालिकाका विकट बस्तीमा रहेका जेष्ठ नागरिकले आफन्तको साहरामा बावियाचौर पुग्नुपर्ने समस्या अन्त्य भएकोमा उत्साहित भएका थिए ।

चुनावी अभियानका क्रममा गाउँपालिका अन्र्तरगतका विभिन्न बस्तीमा पुग्दा रोकालाई बृद्धबृद्धाले घरदैलोमै सुरक्षाभत्ताको ब्यवस्था गर्न अनुरोध समेत गरेका थिए । राज्यले दिने सामाजिक सुरक्षा भत्ता लिन बावियाचौरसम्म पुग्नुपर्ने समस्यलाई मध्यनजर गरेर रोकाले बावियाचौरको एक कार्यक्रममा पुगेका गरिमा विकास बैंकका कार्यकारी अधिकृत गोविन्द ढकाललाई समेत प्रक्रिया पुरा गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता वितरणका लागि कर्मचारीलाई खटाउन अनुरोध गरेका थिए । भत्ता वितरण गर्नुपूर्व बैकका कर्मचारीले गाउँमै पुगेर सेवाग्राहीसंग बैंकिङ प्रक्रिया पुरा गरेका थिए ।