म्याग्दीका गाउँमै रहरलाग्दो आम्दानी गर्छन भारतीयहरु

0
184

भारतको विहार राज्य अन्तरगत पर्ने मतिहारी जिल्ला घर भएका नन्दलाल शाहनी शाहनी विगत ९ वर्षदेखि म्याग्दीका गाउँगाउँमा घुमेर विग्रेका स्टोभ,राइस कुकर,प्रेसर कुकर, ग्याँस लगाएतका समानहरुको मर्मत गर्दै आएका छन् ।
एउटा झोलामा पेचकस, नट, रवर, ह्याम्वर, प्रेसरकुकरका सिटी, ढकनी, ग्याँस सफागर्ने सामान र यस्तै अन्य साधनहरु वोकेर गाउँ चाहार्ने शाहनीले मासिक सरदर २५ देखि ४० हजार रुपैयाँ कमाउँने गरेका र घर( भारत) मा पठाउने गरेको वताएका छन् ।

नन्दलाल शाहनी मात्रै होइन भारतकै गोण्डा जिल्ला घर वताउने मनोहरलाल गुप्ता,फैजावाद जिल्लाका पवनलाल श्रीवास्तव लगाएत दर्जनौं भारतीय नागरिकहरुले म्याग्दीका गाउँगाउँमा पुगेर सामान्य सीपको प्रयोग गरी कमाएको लाखौं रुपैयाँ भारतमा पठाउने गरेका छन् ।

सानासाना काम गर्न लाज मानेर विदेश गई जस्तोसुकै निकृष्ट काम गर्न पनि पछि नपर्ने नेपाली युवाहरुको स्वभावलाई वुझेर नेपालका गाउँगाउँमा पसेका भारतीय यी युवाहरुले नेपाली गाउँघरमा सामान्यभन्दा सामान्य काम गरेर लाखौं रुपैयाँ कमाई आफ्नो देश –भारत)मा पठाउने गरेका छन् ।

९÷९ वर्षदेखि म्याग्दीका गाउँगाउँमा डुलेर विग्रेका सामानहरु मर्मत गर्ने शाहनीले एकदिनमा नै २ देखि ३ हजार रुपैयाँ सम्म कमाइ गर्ने र आफ्नो खर्च कटाएर वचत भएको रकम आफ्नो घरमा पठाउने गरेको वताउँछन् । शाहनी भन्छन् ‘ गाउँ गाउँमा डुल्नुपर्दा दुःख त हुन्छ तर कमाइ पनि राम्रो हुने भएकोले म ९ वर्षदेखि म्याग्दीका सवै गाउँमा घुमेर यो काम गर्दै आएको छु ।’

त्यसैगरी लामखुट्टेवाँट जोखिनका लागि प्रयोग गरिने झुल, तन्ना, सिरकका खोल लगाएतका कपडाको व्यापार गर्दै आएका भारत गोण्डाका मनोहरलाल गुप्ताले पनि सिजन अनुसारका कपडाहरु गाउँ गाउँमा पुगेर विक्रि गर्ने गर्दछन् । कपडाको पोको वनाई टाउकामा राखेर गाउँगाउँमा चाहार्दै हिड्ने गुप्ताले दैनिक सरदर ४देखि ६ हजार रुपैयाँका कपडाहरु विक्रि हुने र खर्च कटाएर २ हजारको हाराहारीमा वचत गर्ने गरेको वताउँछन् ।

त्यस्तै सदरमुकाम वेनीवजारदेखि अलि टाढाका गाउँहरुमा भेटिने भारतको फैजावाद जिल्लामा आफ्नो घर वताउने पवनलाल श्रीवास्तव नामका व्यक्तिले मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधीजन्य चीजहरुको व्यापार गर्दै आएका छन् । नत उनीसंग कुनै आधिकारिक परिचय खुल्ने प्रमाण नै छ ,न त उनले वेच्ने सामग्रीहरुको निर्माण कम्पनी, आधिकारिक डिलर र दर्ता प्रमाणपत्र नै । तै पनि उनी खुलारुपमा आयुर्वेदिक औषधी भनिएका सामान र महको विक्रि गर्दै गाउँगाउँमा डुलिरहेका छन् र वट्टामा राखिएका ‘श्रीराम आयुर्वेदिक चुर्ण’लेखिएको औषधि र मह विक्रि गरी दैनिक १ हजारदेखि २ हजार रुपैयाँ सम्मको कमाइ गरिरहेका छन् ।

शाहनी,गुप्ता र श्रीवास्तव मात्रै होइन,सदरमुकाम वेनी वजारमा पनि कैयौं भारतीय नागरिकहरुले सौलुन चलाउने, चनाचटपट वनाउने,ठेलामा तरकारी राखेर विक्रि गर्ने ,मीठाइ वनाएर विक्रि गर्ने जस्ता अत्यन्त सामान्य जस्ता लाग्ने काम गरेर मासिक हजारौं रुपैयाँ कमाउन सफल भएका प्रशस्तै उदाहरणहरु रहेका छन् ।

नेपालीहरु मासिक २०÷२५ हजार रुपैयाँ कमाउन लाखौं खर्च गरेर अरवका खाडीहरुमा जान मरिहत्ते गर्ने प्रवत्तिका ठीक विपरित भारतीयहरु थोरै लगानीमा आँफूले जानेका काम गरी नेपालका गाउँहरुवाट सजिलैसंग मासिक हजारौं रुपैयाँ कमाएर भारत पठाउन थालेपछि नेपालको ग्रामिण अर्थतन्त्रमा पनि धक्का लाग्ने अर्थशास्त्रीहरुले वताएका छन् ।
म्याग्दी वहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्रध्यापक भोला घिमिरेले लगानी भन्दा आम्दानी वढि गर्न सकिने कामहरुलाई नेपालीले तत्लो स्तरका काम भनेर हेँला गर्ने गरेका कारण विदेशमा निकृष्ट काम गर्नु परेता पनि गाउँ घरका सानासाना कामहरुमा नेपालीहरुको ध्यान जान नसकेको वताउनु भयो ।

कामको जिम्मेवारी अर्कालाई दिएर आँफूहरु विदेश जाने नेपालीहरुको प्रवृत्तिका कारण ग्रामिण अर्थतन्त्र अत्यन्त पराधिन हुँदै गएको प्राध्यापक घिमिरेको भनाइ थियो ।आँफ्नै गाउँ घरमा नै रोजगारीका प्रशस्तै सम्भावनाहरु रहेका तर ती सम्भावनाहरुलाई नेपाली युवाहरुले अत्यन्त हेय दृष्टिले हेर्ने गरेका वताउँदै प्रध्यापक घिमिरेले भन्नुभयो ‘श्रमलाई मूल्यमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा वहस चलाउन आवश्यक भइसकेको छ ।’

गाउँमा कमाइखान नसकेर कैयौं म्याग्दीका युवाहरु भारतीय सहरहरुमा दरवानी, चौकिदारी, होटेल, उद्योग कलकारखानाहरुमा कम तलवमा काम गर्ने गरेका मात्रै होइन कतिपय नेपालीहरु घरेलु नोकरको रुपमा समेत कार्यरत छन्। अत्यन्त न्यून तलवमा जोखिमपूर्ण र निकृष्ट काम गर्न जाने तर आफ्नै गाउँघरमा प्रशस्तै कमाउन सकिने सामान्य कामहरुतर्फ आँखै नलाग्ने नेपाली युवाहरुको प्रवृत्ति देशकै अर्थतन्त्रका लागि समेत घातक रहेको भएता पनि यसतर्फ न सरकारले कुनै विशेष कार्यक्रमहरु ल्याउन सकेको छ न त पुंजी पलायनको अवस्थालाई रोक्ने कुनै योजना नै सरकारसंग रहेको छ ।

नेपालीहरुले विदेशमा गएर कमाएको पैसा कुनै न कुनै रुपमा विदेशमा नै गइरहेको अवस्थामा सरकारले चाहेजस्तो नेपालको आर्थिक विकास कसरी सम्भव होला ? यसको उत्तर पनि ‘गाउँगाउँमा डुल्दै पैसा वटुलेर भारत पठाउने’ यिनै साहनी,गुप्ता र श्रीवास्तवहरुलाई नै सोध्ने हो कि?? धु्रबसागर शर्मा /रासस