जनैपूर्णिमामा पुजा गर्न भक्तजनहरू रिखार मन्दिरमा

0
230

रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा अवस्थित रिखार मन्दिरमा जनैपूर्णिमका दिन पुजाआजा गर्न भक्तजनहरू त्यस तर्फ लागेका छन् । भौगोलिक विकट, आवतजावत, खानेपानीको समस्यामा बावजुत सदरमुकाम बेनीका साथै रघुगंगा गाउँपालिकाका विभिन्न बस्तीबाट भक्तजनहरू मन्दिर तर्फ प्रस्थान गरेका छन् ।

जिल्ला सदरमुकाम बेनीबजार देखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरि हिमालको फेदमा अवस्थित रिखारमा ढुंगाको आधारमा रहेको मन्दिरमा पुजाआजा गरे मनोकांक्षा पुरा हुने जनविश्वासका साथ बालबालिका देखी बृद्धबृद्धा सम्म पुग्ने गरेका छन् । स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र क्रृषि मुनीहरूले तपस्या गर्ने स्थानको रुपमा उल्लेख गरिएको छ । सप्त क्रृषिको तपोभूमी समेत रहेको रिखारमा खानेपानी र पूर्वाधारको अभावका कारण भक्तजनहरुलाई सास्ती हुने गरेको छ । रिखार क्षेत्रलाई हिमालका देवताको वासस्थान भनेर समेत चिनिन्छ ।

रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौपहिलेका शिल्पीहरू रहेका छन् । हिमालको नजिक रहेको मन्दिरमा पुजाआजा गर्न म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, पिप्ले दग्नाम, चिमखोला, कुइनेमंगले, रितुङ मावी, दुवाडी हुदै पात्लेखर्कबाट पुग्ने गरिन्छ ।

तलाउको जलले स्नान गरी भगवान्को पूजा–अर्चना गर्नाले भगवानको लोक पाउने र पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा न्यूनतम पूर्वाधार समेत नभएपछि गाउँपालिकाले प्राथमिकतामा राखेर आवश्यक पुर्वाधार विस्तार गर्ने जनाएको छ । यसबर्ष जनैपूर्णिमका दिन नागी र खयरबहारी मन्दिरमा पुजा हुने पुजा २३ गते सरेपछि भक्तजनहरु बढ्ने अनुमान गरिएपनि खानेपानी र मौसममा देखिएको परिवर्तनका कारण अपेक्षा गरेभन्दा कम भक्तजनहरु पुग्ने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।