नमुना बन्दै गलेश्वर मन्दिर

0
428

साउनको पहिलो र दोस्रो सोमबार भक्तजनले मन्दिरमा चढाएको भेटी मंगलबार नै सार्वजनिक गरियो । समितिका पदाधिकारी र कर्मचारीले हस्ताक्षर गरेपछि लगत्तै बैङ्कमा जम्मा भयो । आधा दशक अगाडीसम्म म्याग्दीको बेनी नगरपालिका–९ प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरका बार्षिक ८० हजार भेटी सार्वजनिक हुन्थ्यो । मन्दिरमा प्रवेश गरेका भक्तजनहरूले मुल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालग्राम, कुण्ड लगाएतका क्षेत्रमा चडाएको सुनचाँदी, तामा, नगद सहित जिन्सी साम्रागीको कुनै लेखाजोखा थिएन् ।

०५७ साल देखी ६७ सालसम्म मन्दिर ब्यवस्थापन समितिको खातामा ३१ लाख मन्दिरको आम्दानी थियो । ०६७ सालमा रुद्ध बहादुर कार्कीको अध्यक्षतामा नयाँ समितिले बार्षिक लाखौं आम्दानी हुने मन्दिरमा भेटी ब्यवस्थापन गने गरी योजनाबद्ध तरिकाले काम अगाडी बढाएको ६ बर्षको अन्तरालमा मन्दिरमा करोडौंका पुर्वाधार थपिएको छ । ‘अस्तब्यस्त अवस्थामा मैले जिम्मेबारी सम्हालेको थिए । भेटी ब्यवस्थापन गर्न केहीबर्ष धेरै मेहनत गर्नुप¥यो’ कार्कीले भने ।

उनले मन्दिर स्थापना देखी ०६७ सालसम्म मुल मन्दिरमा भक्तजनले चढाएको सुन देखी नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलबराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा सहित आसपासका क्षेत्रमा रहेका शालग्राम सहित हिन्दु धर्मालम्बीले पुजाआजा गर्न ठाउँमा चढाइएको भेटीमा पुजारी देखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेको बताए ।

‘भेटी ब्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन् । अहिलेसम्म भेटी र चन्दाबाट ८ करोडको पुर्वाधार थपिएको छ’ अध्यक्ष कार्कीले भने । उनले आफ्नो कार्यकालको पहिलो काम मन्दिरमा रहेका पुजारीलाई तलव, भक्ता र बस्ने ब्यवस्था मिलाएर भेटी विकास कोषले नियन्त्रणमा राख्ने काम भएको बताए ।

भेटीलाई कोषले नियन्त्रणमा लिने निर्णय गर्दा केही धार्मिक ब्यक्तिहरूले त्यसलाई आलोचना गरेपनि अहिले गलेश्वर मन्दिरको मुहार फेरिएको देखेर दंग परेको समेत कार्कीको भनाई छ । मन्दिरका तीनजना पुजारी मध्ये मुख्य पुजारीलाई १५ हजार, सहायकलाई १० हजार र सहयोगीलाई ४ हजार तलव,खानाबस्ने ब्यवस्था गरिएको छ ।‘देशभर रहेका मन्दिरको भेटी मात्रै नियन्त्रण गरे धार्मिक क्षेत्रको प्रर्वधनमा ठुलो भूमिका खेल्छ । हामीले नेपालभरीका मन्दिरलाई सन्देश प्रवाह गर्ने गरी काम गरेका छौ’ उनले भने ।

मन्दिरको भेटी नियन्त्रण तथा महायज्ञको समेत सञ्चालन गरी संकलन भएको दानबाट जिर्ण अवस्थामा रहेको शिवालय, देवालय, मठमन्दिर मर्मत–सुधार, भक्तजनको इच्छा अनुसारको पुवार्धार कालिगण्डकीमा जाने पदमार्ग, मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनलाई निशुल्क भोजन, सभाहल सहितको पक्की भवन, अन्नक्षेत्र सञ्चालन, राजा भरत, जडभरत, गलेश्वर बाबाको मुर्ती, देशका विभिन्न जिल्लाका साथै भारतका विभिन्न राज्यमा प्रचारप्रसार सहित मन्दिरमा आवश्यक पुर्वाधारहरू धमाधम निर्माण गरिएको कोषका सदस्य सचिव माधव प्रसाद रेग्मीले बताए ।

‘गतबर्षको साउन महिनामा मात्रै १३ लाख भेटी संकलन भएको थियो । भेटी मात्रै नियन्त्रण गर्न सकेमा मन्दिरलाई आवश्यक पर्ने सबै पुर्वाधार बनाउन सकिन्छ’ रेग्मीले भने । उनले साउने सोमबार र शिवरात्रीका लाखौ भेटी संकलन हुने गरेको बताए । मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गदै कोषले मुल मन्दिर सहित भेटी र भक्तजनको सुरक्षाका लागि सिसी क्यामेरा समेत जडान गरेको छ । भक्तजनले चडाएको दान नियन्त्रण गर्न अत्याधिक भिडभाड हुने दिनमा निगरानीका लागि समितिले स्वयमसेवक समेत परिचालन गर्ने गरेको छ ।

साउने सोमबारमा अतिथि पुजारीले भेटी लगाउन खोजेपछि तत्कालै हटाएर अर्को पुजारी ब्यवस्थापन समेत गरिएको कोषले जनाएको छ । ‘मन्दिरको पुजाआजा सहज गराउन संस्कृत पाठशाला समेत सञ्चालन गरिएको छ । भक्तजनहरूले आफ्नो सहयोगको सदुपयोग भएको भन्दै बर्षेनी लाखौंको सहयोग गर्ने गरेका छन् । पश्चिमाञ्चलमा पशुपतिनाथको नामले समेत चिनिने मन्दिरमा भक्तजनलाई सहज बनाउन कालिगण्डकी नदीबाट जलको १०८ धारा मन्दिर आसपासका क्षेत्रमा लिफ्टिङ सिचाई मार्फत ल्याउन डिपिआर समेत तयार गर्ने कार्य भइरहेको छ ।