प्रताप बानियाँ

पछिल्लो समय म्याग्दी जिल्लामा सचेतना बढ्दै जाँदा उजुरीको सङ्ख्यामा पनि वृद्धि भएको छ । जिल्लाको सदरमुकामदेखि ग्रामीण भेगका विभिन्न स्थानमा सञ्चालन हुने सचेनतामूलक कार्यक्रम, तालिम, गोष्ठी लगायतका कारणले सर्वसाधारणमा सचेतना बढ्दा प्रहरीमा दिनानुदिन उजुरी बढ्दै गएको हो ।

म्याग्दीमा गत आर्थिक वर्ष २०७३÷७४ मा कुल १ सय ७१ ओटा विभिन्न प्रकृतिका उजुरीहरु दर्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल १२२ ओटा उजुरी दर्ता भएका थिए । गत वर्षमा सबैभन्दा धेरै बैङ्किङ कसुरसँग सम्बन्धित विभिन्न ४९ ओटा उजुरीहरु रहेका छन् । यसैगरी केही सार्वजनिक अपराधका २९ ओटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो।

उहाँका अनुसार भवितव्य ज्यानसम्बन्धी २१, झुण्डीएर आत्महत्या १५, चोरी १२, फुटकर ज्यान १०, सवारी ज्यान ६ र ज्यान मार्ने उद्योगका ५ ओटा उजुरीहरु दर्ता भएका छन् । त्यस्तै बहुविवाह ४, जबरजस्ती करण ३, कर्तव्य ज्यानसम्बन्धी २, हामफाली २, विषसेवन १, औजार प्रयोग १, लागूऔषध १, मानव ओसारपोसार १, गौबध १, हातहतियार खरखजाना १, आगोलागी १ र गर्भपतनको १ ओटा उजुरी दर्ता भएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।  कार्यालयमा दर्ता भएका कुल १७१ ओटा उजुरीमध्ये ११२ ओटा फस्र्यौट भैसकेको छ भने ५९ ओटा बाँकी रहेको उहाँको भनाई छ । आर्थिक वर्ष ०७२÷७३ मा दर्ता भएका कुल १२२ ओटा उजुरीमध्ये ६९ फस्र्यौट भई ५३ उजुरी बाँकी रहेका थिए ।

पछिल्लो समय प्रहरी कार्यालयमा मौखिक वा लिखित रुपमा र टेलिफोनमार्फत उजुरी दिनेको सङ्ख्या बढ्दै गएको बताइएको छ । गतवर्ष जिल्लामा आत्महत्याको घटना पनि घटेको पाइएको छ ।  म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले समाजमा सचेतना बढ्दै जाँदा उजुरीको सङ्ख्यामा ह्वात्तै वृद्धि हुन गएको बताउनुभयो । उहाँले उजुरी दर्ता बढी हुनु जिल्लामा आपराधिक घटनामा बढोत्तरी नभई रिपोर्टिङको मात्रा समेत बढेको हुँदा नागरिकहरुमा चेतना वृद्धि भएको बताउनुभएको छ ।

नागरिकमैत्री प्रहरी सेवा, प्रहरी मेरो साथी, नागरिक सुनुवाई जस्ता कार्यक्रम सञ्चालन हुँदा समुदायमा जनचेतनाको स्तर बढ्दै गएको प्रनाउ खड्काको भनाई छ । उहाँका अनुसार समाजमा जनचेतनाको लेबल बढेको हुँदा घरेलु हिंसा र महिला हिंसाका उजुरी बढ्दै गएको छ । लैङ्गिक सचेनासम्बन्धी कार्यक्रम, महिलाको क्षमता अभिवृद्धि, गाउँगाउँमा आमा समूह गठन, महिला सहकारी र जनप्रतिनिधि चुनिएपछि प्रहरीमा हिंसासम्बन्धी उजुरी आउन थालेको जनाइएको छ । समाजमा नैतिक शिक्षाका साथै विभिन्न सरोकारवाला संघसंस्थामार्फत सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा हिंसा न्युनीकरण हुनसक्ने प्रहरीको भनाई छ ।