बेनीबजारको फोहोर ब्यवस्थापन गर्न डम्पिङ साईड बन्ने

0

विगतमा पटकपटक अलपत्र परेका फोहोर ब्यवस्थापनको कार्यले अव गति लिने भएको छ ।म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोर ब्यवस्थापनका लागि डम्पिङ साईड निर्माण गरिने भएको छ ।

बढ्दो बजारीकरणसंगै एकदशक यता फोहोर ब्यवस्थापन गर्न डम्पिङ साइडका लागि विगतमा पटक–पटक प्रयास गरिएपनि ठाउँको पहिचान हुन नसक्दा अलपत्र परेको योजना स्थानीय तहको निर्वाचन लगत्तै नगरपालिकाको महत्वपूर्ण योजनामा समावेश गरी ६८ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

‘विगतका प्रयासहरूका विचबाट ठाउँको समेत पहिचान भएको छ । एकबर्षभित्र फोहोरको उचित ब्यवस्थापन गरिनेछ’ नगरप्रमुख श्रेष्ठले भने ।

दैनिकजसो सङ्कलन गरिएको फोहोर विर्सजनका लागि उचित ठाउँ नपाउँदा बजार क्षेत्रमा संकलित फोहोर बेनी–गलेश्वर सडकखण्डमा पर्ने रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको छ ।हिन्दु धर्मालम्बीहरूले स्नान गर्ने कालिगण्डमा फाल्ने गरिएको फोहोरलाई डम्पिङ साईड बनाएर ब्यवस्थित गर्न बेनी नगरपालिकामा ५८ लाख बजेट प्राप्त भएपनि खोजी गरिएका विभिन्न विकल्पमा स्थानीयले पटकपटक विरोध गर्ने गरेका थिए ।

कालिगण्डकी नदीमा फालिएको फोहोरले आसपासका क्षेत्र दुर्गन्धित बन्दै गइरहेको अवस्थामा बेनपा–१ र २ को सिमानामा अवस्थित सामुदायिक बनमा डम्पिङ साईट बनाउने गरी नगर परिषद्बाट बजेट विनियोजन गरिएको कार्यकारी अधिकृत विश्वमित्र कुँइकेलले बताए । उनले सामुदायिक बनमा ब्यवस्थित पुर्वाधार बनाएर आसपासका क्षेत्रका बस्तीलाई समेत असर नहुने बताए । बेनीबजारमा दैनिक ४ देखि ६ ट्रयाक्टर सम्म फोहोर संकलन हुने गरेको छ।