बालबालिकामा कहिलेकाहीँ पिसाबमा रगत देखिने समस्या पनि आउँछ । यस्तो समस्या आएमा सोझै विशेषज्ञ डाक्टरलाई देखाउनुपर्ने हुन्छ । पिसाबमा रगत देखिने धेरै कारण हुन सक्छन् । तीमध्ये एउटा ‘ग्लोमेरुलनेफ्राइटिस’ हो । यो भनेको नै पिसाबमा रगत जाने समस्या हो।

यस्तो कहिलेकाहीँ सामान्य संक्रमणबाट पनि भएको हुन सक्छ भने केहीमा मिर्गौला तथा पिसाब नलीको ठूलो समस्याका कारण हुन सक्छ । संक्रमण बाहेक रोगप्रतिरोधात्मक क्षमतामा असर हुँदा पनि यो समस्याले बालबालिकालाई पिरोल्छ । त्यसकारण यस्तो समस्या देखिए लगत्तै चिकित्सकलाई देखाउनु पर्छ। होइन भने त्यसले भित्रभित्रै मिर्गौला खराब गरिसकेको हुनसक्छ।

बालबालिकाको घाँटी तथा छालामा संक्रमण देखिएको छ भने पनि त्यसको कारणले मिर्गौलामा असर पार्ने हुन सक्छ । संक्रमण भएको दुई–तीन हप्तामा मिर्गौलामा असर पुग्ने यस्तो समस्यालाई ‘पोस्ट स्टेप्टोकल ग्लुमेरुलनेफ्राइटिस’ भनिन्छ । यो समस्यामा बच्चाको पिसाबबाट प्रोटिन निस्कने, रगत आउने, रक्तचाप बढ्ने, पिसाब कम हुनेजस्ता लक्षण देखिन्छ।

मिर्गौलाको रोग भनेको ‘साइलेन्ट’ रोग हो । यसका लक्षण हत्तपत्त देखिँदैन । तर, जब देखिन्छ त्यो बेला ढिला भइसकेको हुन सक्छ । बालबालिकाहरुमा पटक–पटक पिसाबको संक्रमण देखिन्छ भने त्यो मिर्गौलाको समस्या हो भनेर बुझ्नुपर्छ । त्यसको समयमै उचित उपचार गराउनुपर्ने हुन्छ । बच्चामा पिसाबको संक्रमण विभिन्न कारणले हुन सक्छ । सामान्यतया बालिकाको तुलनामा बालकलाई पिसाबको संक्रमण कम हुन्छ । तर, बालकमा पिसाबको संक्रमण देखियो भने त्यसले मिर्गौलामा समस्या निम्त्याएको हुन सक्छ।

बालकहरुलाई मिर्गौलाको बनावटमा फरक, पिसाब थैली, पिसाब नलीमा समस्या, पिसाब फर्ने बाटोका छाला पूरा नफर्किंदा, कब्जियत तथा लामो समयसम्म पिसाब रोक्ने बानीका कारण संक्रमण देखिन्छ । यस्ता समस्या देखिए तुरुन्तै उपचारमा जानुपर्छ।

यस्तै, बालिकाहरुमा भने मुत्रद्वार र गुद्वारको सरसफाइ नहुँदा संक्रमण हुने गर्छ । बालिकाहरुलाई अभिभावकले पानीले दिसा सफा गर्दा पछाडिबाट अगाडि हात ल्याएर धुनु हुँदैन । यसो गर्दा पिसाबको संक्रमण हुने खतरा रहन्छ । यसका साथै मिर्गौलाको बनावट, पिसाब नली, पिसाब थैलीको समस्याले पनि बालिकाहरुमा संक्रमण देखिन्छ।

बालबालिकामा पिसाबको संक्रमण पटक–पटक देखिए पनि एन्टिबायोटिक वा अन्य सामान्य उपचार गरेर क्षणिक रुपमा निको पार्ने गरिन्छ । तर, उक्त संक्रमण किन दोहोरिरहेको छ ? भनेर थप जाँच गरिँदैन । फलस्वरुप कालान्तरमा त्यसले मिर्गौलामा गम्भीर असर गर्ने खतरा रहन्छ । यस्ता समस्यालाई सामान्य ठानेर चुप लागेर बस्नु भनेको हाम्रा नानीबाबुहरुलाई मिर्गौला रोगको गम्भीर अवस्थामा धकेल्नु हो । बालबालिकाको मिर्गौलामा हुने सबै रोग तथा समस्याको नेपालमा उपचार सम्भव छ । त्यसकारण समयमा नै उचित उपचार गर्नु बुद्धिमानी हुन्छ। swasthyakhabar.com

डा. विवेक तोदी, कन्सलट्यान्ट पेडियाट्रिक नफ्रोलोजिस्ट