(केशव कँडेल)
मँगला शिक्षा क्याम्पस बावियाचौरको सञ्चालक समिति अध्यक्षमा श्रीराम पौडेल चुनिएका छन् । स्थानीयको भेलाबाट पौडेल सहित दीर्घ बहादुर खड्का, यामबहादुर थापा मध्ये एकजनालाई अध्यक्षमा सिफारिश गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरे बमोजिम उसले पौडेललाई सिफारिश गरेको हो । समितिका सदस्यहरुमा खड्का,थापा सहित कविन्द्र रोका, धनबहादुर खाती, नरसिँह बहादुर खत्री, भुपेन्द्र खत्री, मनबहादुर मगर, बिना भण्डारी, फुलमायाँ नेपाली, कमति पाईजा, मायाँ सापकोटा,कलदेवी जिसी र पूर्ण बहादुर श्रीपाली रहेका छन् ।

समितिका गाउँपालिका प्रमुख र निर्वतमान सञ्चालक समिति अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। सञ्चालक समितिका अझै ८ जना सदस्य मनोनित गर्न बाँकी रहेको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए । क्याम्पसको शैक्षिक र भौतिक संरचनाको स्तरोन्नतिमा आफुले ध्यान दिने अध्यक्ष पौडेलले बताएका छन् ।क्याम्पसमा मँगला गाउँपालिकाका साथै मालिका गाउँपालिबाट समेत अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बाहिर पहिलोपटक २०६६ भदौ १६ गते स्थापना भएको क्याम्पस शिक्षा संकाय सञ्चालन भइरहेको छ । क्याम्पसको पूर्वाधार विकासमा स्थानीयबासीका साथै स्वदेश तथा विदेशमा रहेकाले ८२ लाख आर्थिक संकलन भएको छ भने ३३ रोपनी जग्गा समेत खरिद गरिएको छ । पश्चिम म्याग्दीका साथै बागलुङको ताराखोला लगाएतबाट हाल ५३ जना विद्यार्थी अध्ययरत छन् । क्याम्पस स्थापना भएपछि ग्रामिण क्षेत्रका विद्यार्थीलाई सहज भएको थियो ।