पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडक खुलाउन पहल

0
256

पश्चिम म्याग्दी भेगलाई जोड्ने अबरुद्ध बेनी–दरबाङ सडक खुलाउनका लागि पहल शुरु भएको छ । बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गला गाउँपालिका–२ बाबियाचौरमा पर्ने लाम्पाटामा आएको पहिरोले अबरुद्ध बनाएको सडक खुलाउन लागिएको हो ।

निरन्तरको वर्षाका कारण यही साउनको पहिलो शनिबार राती सडक माथीबाट आएको पहिरोका कारण हालसम्म पनि बेनी–दरबाङ सडकखण्ड अबरुद्ध कायमै रहेको छ । अबरुद्ध सडकखण्ड खुलाउनका लागि म्याग्दीका प्रमुख जिल्ला अधिकारीले सक्रियता देखाएका छन् । सोमबार अबरुद्ध बेनी–दरबाङ सडकखण्डको लाम्पाटा क्षेत्रको जिल्लाका उच्च सरकारी अधिकारी, सरोकारवाला निकाय, पत्रकार र डिभिजन सडक कार्यालयका प्रतिनिधिले स्थलगत निरीक्षण गरेका छन्।

अवरुद्ध सडक खुलाउने विषयमा सोमबार मङ्गला गाउँपालिकाको कार्यालय बाबियाचौरमा प्रजिअ राजुप्रसाद पौडेलको संयोजकत्वमा वैठक बसी छलफल र निर्णय गरिएको छ । उक्त वैठकमा म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका क्रमशः अध्यक्ष र उपाध्यक्ष शतप्रसाद रोका, श्रीप्रसाद रोका, थमसरा पुन र सिर्जना केसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अर्जुन शर्माको सहभागिता रहेको थियो ।

यसैगरी वैठकमा डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सुनिल थापा, सव–इन्जिनियर सुचना शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका केन्द्रीय पार्षद सन्तोष गौतम, सहसचिव गोपाल छन्त्याल, मङ्गला–२ का वडाध्यक्ष धनबहादुर खाती, मङ्गला गाउँपालिकाका कर्मचारीलगायतको सहभागी थिए ।

वैठकले अबरुद्ध सडक खुलाउनका लागि डिभिजन सडक कार्यालयबाट स्काभेटर मेशिन र चालक आइसकेको हुँदा आवश्यक इन्धनको जोहो गरी तत्कालै सडक खुलाउने निर्णय गरेको छ । यसैगरी अबरुद्ध सडक खुलाउँदाको लाग्ने सञ्चालन खर्च तीनओटा गाउँपालिकाको समन्वयमा बेहोर्ने गरी काम अघि बढाउने निर्णय समेत गरिएको ती गाउँपालिकाकाले जनाएका छन् । त्यस्तै वैठकले अवरुद्ध सडक खुलाउनका लागि भरपर्दो सुरक्षा व्यवस्था जिल्ला प्रहरी कार्यालयबाट मिलाउने निर्णय पनि गरिएको छ ।

पश्चिमका तीनओटा गाउँपालिकाको लाइफलाइनको रुपमा बेनी–दरबाङ सडक रहेको हुँदा अवरुद्ध सडकलाई खुलाउन र सुधार गर्नका लागि गाउँपालिकाहरुले आवश्यक पहल गर्नुपर्ने प्रजिअ राजु पौडेलले बताए । उनले मङ्गला, मालिका र धौलागिरि गाउँपालिका एकापसमा मिलेर सडक खुलाउनुपर्नेमा जोड दिएका छन् । प्रनाउ बशुन्धरा खड्काले अबरुद्ध सडक खुलाउने अवधिभर मेशिनलगायतको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमार्फत आवश्यक सुरक्षा प्रबन्ध मिलाइने बताइन् ।

डिभिजन सडक कार्यालयका इन्जिनियर सुनिल थापाले अवरुद्ध सडक खुलाउन सडकको दुवै तिरबाट ट्¥याक खोल्नुपर्ने अवस्था रहेको हुँदा डिभिजन सडक कार्यालयले मेशिन र अपरेटको व्यवस्था गरेको बताउँदै सञ्चालन खर्च स्थानीय तहले बेहोनुपर्ने बताएका थिए । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले डिभिजन सडक कार्यालयले अवरुद्ध सडक खुलाउन प्राथमिकता दिनुपर्ने भन्दै निरन्तर फोन सम्पर्कमा अपडेट भैरहन आग्रह गरेका छन् । मङ्गला गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले अवरुद्ध सडक खुलाउन आफूले निरन्तर पहल गरिरहेको बताएका थिए ।

बेनी–दरबाङ सडकखण्ड अवरुद्ध हुँदा पश्चिम म्याग्दीका साविकका १६ ओटा गाविसका स्थानीयवासीहरु प्रत्यक्ष मारमा परेका छन् । त्यसैगरी विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पदयात्री, सर्वसाधारण लगायतलाई सास्ती भएको छ । अबरुद्ध सडकका कारण पश्चिम भेगमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको स्थानीयले गुनासो गरेका थिए । अबरुद्ध सडक पन्छाउनका लागि अपरेटरसहित मेशिन सम्बन्धित ठाउँमा पुगेपछि केही दिनभित्रै सडक खुल्ने अपेक्षा गरिएको छ ।