जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका देवेन्द्र केसी निर्विरोध भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा मंगलबार भएको सहमति पश्चात गोलाप्रथाबाट एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका केसीलाई सभापति परेको थियो । त्यस्तै नेपाली कांग्रेसलाई उपप्रमुखको चिठ्ठा परेको थियो ।

जिल्ला समन्वय समितिमा कुनैपनि दलको बहुमत नभएपछि कांग्रेस र एमालेले गोलाप्रथाबाट पद बाँडफाँड गर्ने सहमति अनुसार नेकपा एमालेलाई प्रमुख सहित एक खुल्ला सदस्य, एक महिला सदस्य र एक अल्लसंख्यक दलित सदस्य परेको छ भने नेपाली कांग्रेसलाई उपप्रमुख, दुई खुल्ला सदस्य र दुई महिला सदस्य परेको छ । कांग्रेस र एमाले विचको सहमतिमा नेकपा एमालेले आफ्नो भागमा परेको दुई सदस्य राप्रपा र नेपाली कांग्रेसले १ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

गोलाप्रथामा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजा, नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतको उपस्थिती भएको थियो । जिल्ला समन्वय समितिका सभापति केसी रघुगंगा गाउँपालिका–२ का निर्वाचित वडा सदस्य हुन्भने तत्कालीन भगवती गाविसका अध्यक्ष समेत हुन् । म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित ९ सदस्य हुने यसअघि नै निर्णय भइसकेको छ । जिससमा मताधिकार भएका ६ स्थानीय तहका १२ जना मतदाता मध्ये ६ जना काँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन्