पर्यटकीय गन्तव्यको अनुपम स्थल म्याग्दी

0
409

(धु्रबसागर शर्मा) 
नेपालका ७५ जिल्लामध्ये पर्यटकीय गन्तव्यको सर्वश्रेष्ठ (प्रथम श्रेणी) मा पर्न सफल म्याग्दीमा अथाहा र अन्य जिल्लामा नभेटिने प्राकृतिक सम्पदाहरु रहेका भएपनि ती सम्पदाहरुको उचित प्रयोग हुन सकेको छैन । पर्यटकीय सम्बन्ध,उत्पादन,स्रोत,सौन्दर्य र सामथ्र्यको विकास र प्रचारप्रसारका लागि सरकारी निकायले गरेको वेवास्ताका कारण ती संभावनाहरु अलपत्र अवस्थामा रहेका हुन् ।

नेपालको एक मात्र शिकार आरक्षण– ढोरपाटन शिकार आरक्षण (निकुञ्ज), खच्चर प्रजनन् (नश्ल) उत्पादन गर्ने केन्द्र, विश्वकै सबैभन्दा गहिरो गल्छी (अन्धगल्छी÷कालिगण्डकी) लगायत धेरै पर्यटकीय गन्तव्य छन् यहाँ । नेपालका चर्चित तातोपानी कुण्डहरू– सिंगा, भुरुङ, मोदी, गुर्जा र दशनाम यहाँ पर्छन् । तातोपानीमा नुहाउन देश विदेशका हजारौँ पर्यटक यहाँ आउने गर्छन् ।

अति सुन्दर धवलागिरि हिमशृङ्खला, एकराते तथा रूप्छे छहराहरू, गुराँसको गलैँचा– घोडेपानी, पुनहिल, कुइने–मङ्गले, मल्कावाङ, मच्छिम (तामा र फलाम) खानी, नारच्याङ– (अतिसुन्दर भ्यू प्वाइन्ट) देखि जलजला (मीडो)÷गुर्जा खानी, बेनीदेखि धवलागिरि आइसफल, बेनीदेखि रुम तमान सोलेको धुरी, नाउर, झारल, बदेल शिकार गर्नेदेखि हनिहण्टिङ, प्रसिद्ध गलेश्वर धार्मिक धाम, पुलस्त्य आश्रम, राखुकोटदेखि मालिकाको धुरी, जलक्रीडाका लागि कालीगण्डकी, म्याग्दी खोला र रघुगङ्गा, जस्ता थुप्रै आकर्षक मनोरम स्थल यहाँ छन् ।

यति धेरै पर्यटकीय सम्पदा रहेर पनि म्याग्दीवासीले जिल्लाको पहिचान स्वदेश तथा विदेशमा जति प्रचारप्रसार गर्नुपथ्र्यो त्यो हुन सकेको छैन । हङकङ, बेलायत, अमेरिकालगायत विश्वका धेरै मुलुकमा थुप्रै म्याग्दीवासीले विभिन्न सङ्घ÷संस्था खोलेका छन् । इन्टरनेटमा केही वेभसाइटहरू खोलेका छन् र तीमार्फत आफूहरूलाई त्यहाँ चिनाउने काम मात्र भएको छ । आफ्नो जन्मभूमि अपार पर्यटकीय सम्पदाले भरिपूर्ण छ भन्ने कुरा कुनै सूत्रमार्फत चिनाउन नसकेको मोना वेल्जियमका पूर्व अध्यक्ष चन्द्रवहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीको मानवीय उत्पादनमा, दोस्रो विश्व युद्ध (१९३९–४५) मा बहादुरी देखाएबापत् बेलायतकी महारानीबाट भिक्टोरीया क्रस तक्मा थाप्ने स्व. तुलबहादुर पुन, विश्व गिनीजबुकमा बढी उमेर (७७ वर्ष) मा सगरमाथा सफल आरोहण गरेर चिनाउने स्व.मिनबहादुर शेरचन, ताररहित इन्टरनेट सेवाका उत्पादन गरी म्याग्सेसे पुरस्कार बिजेता महावीर पुनको जन्मथलो हो म्याग्दी ।

आफ्नो कला र गलाले म्याग्दी बेनी मात्रै होइन सदाबहार गायन कलाले नेपाल चिनाउने “बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल” लोकगीत गायिका मन छन्त्याल, सपाङ्ग सरह रेडियो नेपालको जागिर कला र गलाले स्वदेश तथा विदेशमा भ्रमण गरी विश्वलाई लोक तथा दोहोरी गीतले मन्त्रमुग्ध पार्ने खड्क गर्वुजा, धनकुमारी थापा, काठमाडौँका होटल, रेष्टुराँहरूमा दोहोरी साँझ रन्काउने पेसेवर याम श्रेष्ठका मण्डलले जिल्लाको परिचय गराएका छन् । विदेशबाट ठूलो राशिमा रेमिट्यान्स भित्राउन प्रथम स्थान ओगट्ने म्याग्दीका नागरिक संसारका प्राय सबै मुलुकहरुमा पुगेका म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताउनुभयो ।

झण्डै ४२ प्रतिशत मगर जनजाति, १६ प्रतिशत क्षेत्री र १४ प्रतिशत दलित (कामी, दमाई, सार्की आदि) जातिले ओगटेको म्याग्दीमा ९० प्रतिशत साक्षरता दर छ । छन्त्याल जातिको उद्गम स्थल (गुर्जा, कुइने– मङ्गले, मलकावाङ) र यी जातिहरूसँग रहेको मौजुदा भेषभूषा, खानपान, संस्कृति (मारुनी, पुर्खेउली, सोरठी, झाम्रे, लोक तथा दोहोरी एवं यानीमाया गीत), राणा शासनको उत्तराद्र्ध वि.सं. १९८० सम्म स्थानीयस्तरमा आफैँ (सुंघेर) खानी पत्ता लगाउने छन्त्याल (मुसा), खानी खन्ने श्रमिक मगर (आउरी), बजारीकरण र सप्लाई (आपूर्ति) सेवा प्रदान गर्ने थकाली (सुब्बा) हरूसँग रहेको सीप ज्ञान र अनुभवलाई नजिकैबाट बुझ्न अध्ययन अनुसन्धान गर्नका लागि म्याग्दी वाहेक अन्य विकल्प नरहेको जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख एवम् स्थानीय इतिहाँस विद् कृष्णवहादुर वानियाँले बताउनुभयो ।

यहाँ रहेका केही होमस्टेहरू, नागी, फूलबारी, शिखा धारा वा गुर्जा, कुइने–मङ्गले, देवीस्थान, ताकम बरांजा लगायतका गाउँमा जाने जो कोहीले पनि त्यो आत्मीयता र हार्दिकता पाउँछन् । खानपान जे जस्तो भए पनि आतिथ्य सत्कार गर्नु मन र वचनले मानसिक सन्तुष्टिको दिनु उनीहरूको संस्कृति हो । त्यसैले इमानदार, अनाथ, निष्कलङ्क, निष्कपट एवं ‘अतिथि देवोः भव’ व्यवहार अतिथि÷पाहुनाको लागि चरम उपलब्धि दिने संस्कार म्याग्दीमा जस्तो अन्त कतै नभएको पर्यटन पत्रकारिताका ज्ञाता पत्रकार अमृत भादगाउँलेले बताउनुभयो ।

हिदी, चिमखोला, सिवाङ, मोदी, चराङ, मुना, लमसुन, लुलाङ, ताकम, तमाम आदि गाउँमा झण्डै अस्ताउँदै गरेका पुरानो संस्कृति– रोधी, सालैजो, झाम्रे, पुर्खेउली, लोक तथा दोहोरी, यानी÷सुनीमाया, थालनाच आदि हेर्न, सुन्न पाइन्छ तर आजभोलि ती संस्कृति सम्पदा पनि सहर बजारतर्फ पलायन भएका छन् । यिनको संरक्षण र संवद्र्धन गर्न अति नै आवश्यक रहेको म्याग्दीकी लोकगायिका धनकुमारी थापाको भनाइरहेको छ ।

म्याग्दीका प्रायः सबै गाउँघरमा यी संस्कृति कुनै पर्व विशेष र चाडपर्व, उत्सवमा मात्र हेर्न पाइन्छ । मगर जातिहरूले पञ्चेबाजा बजाई बिहे, पर्व र उत्सवमा मनोरञ्जन गरी आर्थिक लाभसमेत उठाएको भेटिन्छ । मानिसलाई मनोरञ्जन र पाँच ज्ञानेन्द्रीयको आकर्षण गर्ने सन्तुष्टी त्यहाँ रहेको मानव संशाधन र व्यवहारले दिन्छ । यही हो पर्यटन विकासको मूल आधार । प्रायः हरेक गाउँमा आमा समूहको सक्रिय सहभागिताले समाजमा कहिलेकाहीँ देखिने÷भेटिने विकृति र विसङ्गतिहरूलाई नियन्त्रण, निरुत्साहित र आधुनिक सभ्यतालाई उन्मुख गराएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

म्याग्दीमा प्राकृतिक वरदान जैविक विविधताले भरिपूर्ण छ । यार्सागुम्बा सङ्कलन, नीलोतुथो (क्रिस्टल स्टोन), भीरमह काट्ने (हनिहण्टिङ), अल्लो र भेँडा बाख्राको ऊन÷रेसा (धागो) बाट कपडा एवं थरिथरिका लगाउने बस्त्र एवं झोला, अन्य वस्तु यहाँबाट उपहारको रूपमा लैजाने गरेका महिला उद्यम विकास समितिका अध्यक्ष अमृता भण्डारी बताउनुहुन्छ ।

एउटै गाउँ– गुर्जामा तीनवटा विशाल हिमशृङ्खला– गुर्जा, पुठा, चुरेन हिमचुली भेटिन्छन् । लालीडाँडा, अर्थुङ्गे तिनचुली, सोलेको धुरी, मालिका तथा ताकमकोटको धुरी र अति सुन्दर टोड्के जस्तो उत्तरतर्फका हिमशृङ्खला (मनास्लुदेखि चुरेनसम्म) अवलोकन गर्न पाइने आकर्षक डाँडा, पाखाहरू यहाँ रहेका छन् । जलजला खर्कबाट गुर्जा, चुरेन, पुठा र धवलागिरिको पश्चिम मोहडा आफ्नै छाती अगाडि राखेर हेर्न पाइन्छ ।

गुर्जा गाउँबाट पुठा, चुरेन हिमालको फेदी हुँदै नाउरको घाँटी, हेस्तुको घाँटी भएर डोल्पा छिर्दा अर्थात् तिब्बततर्फ पैदलयात्रा गर्न सकिने धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनको भनाइरहेको छ । बेनी–ताकम÷मछिम खानी–मोदी हुँदै धवलागिरि बेसक्याम्प भएर राउण्ड धवलागिरि पैदल यात्रा गरी मुस्ताङको मार्फासम्म पुग्न सकिने सम्भावना पनि रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

चाहे ग्रेट हिमालय ट्रेक वा गुरिल्ला ट्रेक वा धौवलागिरि आइसफल ट्रेक होस् जता गए पनि म्याग्दी पर्यटकीय गन्तव्यै गन्तव्य हुन सक्छ । धवलागिरि अन्नपूर्ण कम्युनिटी इको ट्रेक वा लभ हिल, ज्यामरुकको भकुण्डे, बरंजा, अर्मन, निस्कोट, रुम, सोले हुंँदै तमान बुर्तिवाङ वाटै रिडी पाल्पा पैदल यात्रा गर्न सकिने सम्भावना पनि रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

म्याग्दीलाई नछोई हिमालपारिको जिल्ला मुस्ताङ पुग्न सकिँदैन । मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथधाम, बाग्लुङको भगवती दर्शन, ¥याफ्टिङ र केनोइङबाट कालिगण्डकीमार्फत सेती बेनी शीला र पाल्पा रिडी एवं रानीघाट (रानीमहल) भएर लुम्बिनी निस्कन सकिन्छ । राउण्ड अन्नपूर्ण (एक्याप क्षेत्र) पैदल भ्रमण गर्न, ढोरपाटन शिकार गर्न वा लोमान्थाङ हुँदै तिब्बत छिर्न पनि म्याग्दी जिल्ला हुँदै जानुपर्ने हुन्छ । यस्तो जिल्लाको पर्यटन गुरु योजनालाई स्थानीयवासी, सरकार, उद्यम व्यवसायी र पर्यटन प्रवद्र्धनका क्षेत्रमा कार्यरत सरोकारवाला निकायले प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।