जिल्ला समन्वय समिति म्याग्दीमा निर्वाचित पदाधिकारीहरुले बुधबार शपथग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको प्रमुखदेखि सदस्य पदको निर्वाचनमा उम्मेदवार भई स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुले शपथग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक कार्यक्रमकाबीच निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरी शपथग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश रामप्रसाद शर्माले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र उपप्रमुख लोकबहादुर मल्ललाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । लगत्तै प्रमुख केसीले समितिका अन्य पदाधिकारीहरुलाई शपथ खुवाएका थिए ।

जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेबाट प्रमुख पदमा देवेन्द्रबहादुर केसी र उपप्रमुखमा नेपाली कांग्रेसका लोकबहादुर मल्ल निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यमा एमालेबाट बोमाया गर्बुजा, कांग्रेसबाट खिमकुमारी पूर्जा, रामदेवी पुन, अल्पसङ्ख्यक सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुकमाया छन्त्याल, खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रबाट शेरबहादुर केसी, राप्रपाबाट हरिबहादुर शाक्य र कांग्रेसबाट मेकबहादुर गर्बुजा निर्वाचित भएका छन् ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, नगर उपप्रमुख सन्जु बरुवाल, जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकारलगायतको सहभागिता रहेको थियो ।

शपथ ग्रहणलगत्तै बुधबारै नवनिर्वाचित पदाधिकारीहरुले जिल्ला समन्वय समितिको कार्यालयमा पुगी पदभारग्रहण समेत गरेका छन् । समन्वय समितिका प्रमुख देवेन्द्र केसीले ग्रामीण भेगबाट मागभई आएको ग्याबिन जाली सहयोगको निवेदनमा तोक लगाई हस्ताक्षर गरी कार्यभार सम्हालेका छन् । निमित्त स्थानीय विकास अधिकारी रविन महर्जनसहित जिल्ला समन्वय समितिका कर्मचारीहरुको उपस्थितिमा प्रमुख र उपप्रमुखले आ–आफ्नो पदभार सम्हालेका थिए ।

यसअघि जिसस म्याग्दीमा नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यालयका कर्मचारीहरुले फुल तथा पुष्प गुच्छा उपहार दिई स्वागत समेत गरेका थिए । पदभारपछि जिससमा भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख देवेन्द्र केसीले नेपाल सरकारको नीति, नियम र परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जनताले सेवासुविधा सहज ढङ्गले पाउने गरी कर्मचारीलगायत सबैको सहकार्यमा अगाडि बढिने बताए । कार्यक्रम जिससका सूचना अधिकृत पदम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।