आत्महत्याको प्रयास गरेकी अर्की महिलालाई कालिगण्डकीबाट जिवितै उद्धार

0
352

बुधबार साँझ कालिगण्डकी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी एक महिलालाई यूवाहरूले उद्धार गरेका छन् । बेनी नगरपालिका–८ कालिपुलको पुरानो बजारबाट पर्वत मल्लाज जाने झोलुङे पुल नजिकबाट आत्महत्याको प्रयास गरेकी एक महिलालाई कालिपुल यूनाइटेड क्लवका कार्यसमिति सदस्य मनोज गौचनले महिलालाई उद्धार गरेका थिए ।

‘आत्महत्याका लागि खोलामा पुगेकी महिला पटकपटक हामफाल्ने प्रयास गरेको देखे । नदी नजिकै भएकाले समातेर बाहिर ल्याए’ गौचनलाई उद्धित गदैं इपेन तिलिजाले बेनीअनलाइनलाई भने । उनले महिला समेत खोला नजिक पुगेपछि डराइरहेको अवस्थामा देखेपछि तत्कालै बाहिर ल्याएर प्रहरीको उपस्थितीमा आफन्तको जिम्मा लगाएको बताए ।

‘मनोज भाईले बाहिर निकालेपछि हामीलाई खवर गरे, तत्कालै महिलाहरुसंगै पुगेर उद्धार गरी प्रहरीलाई खवर गरियो’ उनले भने । काफलडाँडा घर बताउने महिला पर्वतबेनीमा बस्ने गरेको बताएपनि आत्महत्याको कारण भने पहिचान हुन सकेको छैन् । अन्दाजी ३२ बर्ष उमेरकी महिलाले आफ्नो नाम तारा गर्बुजा बताएपछि आफन्तको खोजी गरी जिम्मा लगाइएको थियो ।

पर्वतबेनीको प्रहरीलाई सहयोग मागेपनि तत्कालै नआएपछि म्याग्दी प्रहरीबाट दुईजना प्रहरी जवान पुगेछि परिवारको जिम्मा लगाइएको थियो। दुईदिन अगाडी मात्रै म्याग्दी र कालिगण्डकीको दोभानमा ४२ बर्षकी आइती तामाङलाई एभरग्रिन यूवा क्लवमा आवद्ध रहेका यूवाहरूले जोखिम मोलेर नदीबाट उद्धार गरेका थिए ।

धरान घर बताउने महिला हामफालेपछि नदीबाटै उद्धार गरेर प्रहरीलाई जिम्मा लगाएका थिए । जिल्लामा झुन्डिएर, विष सेवन र हाम फालेर २५ जनाको हाराहारीमा आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आर्थिक अवस्था कमजोर, पारिवारिक तनाव, आर्थिक हिनामिना, बैदेशिक रोजगार लगाएतका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । जिल्लामा डरलाग्दो सामाजिक समस्याको रुपमा देखिएको आत्महत्या न्यूनिकरणको प्रयास भएपनि पारिवारिक तथा सामाजिक समस्याका कारण न्यूनिकरण हुन सकेको छैन् ।