जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीलाई नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले बुधबारै पार्टी कार्यालयमा सम्मान गरेको छ । जिसस म्याग्दीको प्रमुख पदमा पार्टीका जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसी र महिला सदस्यमा निर्वाचित बोमाया गर्बुजालाई सम्मान गरिएको हो ।

उनीहरुलाई नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण सुवेदी, जिल्ला कमिटीका पदाधिकारी, युवा तथा विद्यार्थीले फुलमाला, खादा र अबिर लगाई बधाई ज्ञापनसहित सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले हालै सम्पन्न निर्वाचनमा म्याग्दी जिल्लाका केही स्थानीय तहमा एमाले पछि परेपनि बहुमतका हिसाबले अगाडि रहेको बताए । उनले जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेले विजय हासिल गरेको भन्दै अब जिल्लासहित समग्र ४ नम्बर प्रदेशमा आगामी चुनावबाट एमाले पहिलो हुने दावी गरेका छन् ।

नवनिर्वाचित प्रमुख तथा पार्टी उपाध्यक्ष देवेन्द्र केसीले पार्टीको नीति निर्देशनअनुसार परिधिभित्र रहेर सबैको राय सल्लाह लिई जिल्लाको काममा लागिपर्ने बताएका छन् ।

एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठले म्याग्दीमा जिल्ला समन्वय समितिको निर्वाचनसँगै एमाले पहिलो शक्तिको रुपमा उदाएको बताए । उनले यसअघि सम्पन्न स्थानीय तहको चुनावबाट म्याग्दीको ६ स्थानीय तहमध्ये दुई गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २३ वडाध्यक्ष, २२ महिला सदस्य, २३ दलित महिला सदस्य र ४४ खुला सदस्यसहित कुल ११७ सदस्य बहुमत एमालेले जितेको बताए ।

उपाध्यक्ष केसी यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा रघुगंगा गाउँपालिका–२ मा वडा सदस्यमा चुनाब लडेर लोकप्रिय मत ल्याएर जितेका थिए । त्यस्तै समन्वय समितिका सदस्य गर्बुजा अन्नपूर्ण गाउँपालिका–१ दोवाको वडा महिला सदस्यमा अत्यधिक मत ल्याई विजयी भएकी थिइन् । कार्यक्रम एमाले अध्यक्ष श्रेष्ठको अध्यक्षता र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समन्वय समिति सदस्य गर्बुजाले मन्तव्य राखेकी थिइन् ।