बेनी नगरपालिका–१० पात्लेखेतको बान्द्रखाल्टो पहिरोले तीनघर विस्थापित भएका छन् । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानीले पहिरो बस्ती नजिक पुगेको छ ।

पहिरोले छविलाल गर्बुजा, मुरारी हमाल र हरि गर्बुजाको परिवार विस्थापित भएका छन् । साविकको पात्लेखेत गाविस ३ र ४ नम्बर वडाका करिव २० घरधुरी पहिरोको उच्च जोखिममा रहेको जिल्ला भु संरक्षण कार्यालय म्याग्दीका प्रमुख दिवाकर पौडेलले बताए । ‘हरेकबर्ष पहिरोले क्षती पुर्याइरहेको छ । राहुघाट खोलाबाट सुरु भएको पहिरो बस्तीमै पुगेको छ’ पौडेलले बेनीअनलाइनलाई भने ।

उनले पहिरो नियन्त्रणको प्रयास गरिएपनि सफल हुन नसकिएको बताउँदै करोडौंको परियोजना सञ्चालन गर्नुपर्ने बताए । पहिरोले दिपक मावीलाई समेत जोखिममा पारेको छ । २०६२ सालमा सानो पहिरो खसेपनि विस्तारै पहिरोले फराकिलो रुप लिएपछि हरेकबर्ष स्थानीयबासीले त्रासपुर्ण वातावरणमा दिन काट्न बाध्य छन् ।

पर्यटकीयस्थल टोड्केसम्मको भूमिगत पानी पहिरो नजिक निस्कने गरेपनि नियन्त्रणको प्रयास नहुदाँ पहिरो रोकथामका लागि प्रयोग गरिएका सबै विधि असफल भएको स्थानीयबासीले बताएका छन् । पहिरोले सयौं हेक्टर खेतीयोग्य जमिन समेत क्षती पुगिसकेको छ । विगतमा समेत पहिरोले १० घरधुरीलाई विस्थापित बनाएको थियो । यसैविच स्थानीय जनप्रनिधिले पहिरोको अवलोकन गरेका छन् । क्षती पुगेर विस्थापित भएकालाई राहत र पहिरो नियन्त्रणका लागि समेत पीडितले माग गरेका छन् ।