गुणस्तरीय र सर्वसुलब स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने गरी उपचार खर्चमा नागरिकको वित्तिय सुरक्षा प्रदान गर्न म्याग्दीमा संचालित स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी देखिएको छ ।एकबर्ष अगाडी देखी सुरू भएको विमा कुल जनसंख्याको ५ हजार १ जनाको पहुँचमा पुगेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दी प्रबन्धक अर्जुन पण्डितले बताए ।

‘केही महिना विमाको महत्वका बारेमा जानकारी गराउँदै वित्यो, अहिले ग्रामिण क्षेत्रका जनता समेत विमाप्रति आर्कषित देखिएका छन्‘ पण्डितले भने। उनका अनुसार जिल्लाको कुल जनसंख्या १ लाख १३ हजार मध्ये ४.४० प्रतिशत विमित भएका छन् । जिल्लाका सबै स्थानीय तहमा लागु भएको कार्यक्रममा १२ सय १२ परिवारबाट २३ सय ३५ जना पुरुष र २६ सय ५५ जना महिला सेवा लिएका छन् । विमित वापत ३० लाख ६९ हजार ८५० रुपैयाँ सेवा शुल्क सङ्कलन भएको छ ।

जिल्लाभर कार्यरत दर्ता सहयोगीमा धेरै महिला भएकाले पनि विमाको महत्व महिलालाई बुझाउन सहज भएको भएको बताउँदै अधिकांस पुरुष रोजगारको खोजीमा देश बाहिर भएकाले पनि संख्यामा कमी देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । स्वास्थ्य विमाका बारेमा सर्वसाधारणलाई विभिन्न माध्यमबाट प्रचारप्रसार सहित महत्वका बारेमा जानकारी गराइएको छ ।

स्वास्थ्यमा वित्तिय भार न्यूनिकरण गर्न कार्यक्रमले प्रभावकारी भूमिका खेलेको अवस्थामा विमाको महत्वका बारेमा जानकारी भएकाहरू समेत सेवाबाट बाहिर देखिएकाले स्थानीय तहमै पुगेर विभिन्न जनचेतनामुलक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ ।

दर्ता सहयोगीलाई स्थानीयस्तरमा रहेका विद्यालय सहित सामाजिक संघसंस्थाले समेत विमा सेवामा आवद्ध हुन सघाइरहेका छन् । दर्ता सहयोगी (स्वयंमसेवक)ले विमितलाई तोकिएका अस्पताल, केन्द्रबाट प्राप्त हुने सेवाका साथै उपलब्ध नभएका सेवासुविधाका बारेमा समेत जानकारी गराउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अन्र्तरगत नगरपालिका र गाउँपालिकाका वडामा रहेका स्वास्थ्य चौकी र सार्वजनिक कार्यक्रममा समेत स्वास्थ्य विमा सम्बन्धि शिक्षालाई समेत प्राथमिकता दिएको हुन्छ’बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले बताए ।‘विमितलाई सहज सेवा उपलब्ध भइरहेको छ, सेवा लिएकाहरूबाट समेत प्रचारप्रसार भइरहेको छ’ न्यौपानेले भने।
उनले नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचय पत्र भएका अति गरिबलाई १ सय प्रतिशत, गरिबलाई ७५ प्रतिशित र सिमान्तकृत गरिबलाई ५० प्रतिशत योगदान रकममा छुटको ब्यवस्था समेत गरिएको छ ।

स्वास्थ्य विमाको सदस्यता दर्ता गरेको दुईदेखी तीन महिनाभित्र सेवा लिन मिल्ने भएपनि प्रयाप्त जानकारीको अभावमा सेवाग्राहीले दुईतीन दिनभित्र नै सेवाको माग गदैं अस्पतालमा पुग्ने गरेका गुनासो स्वास्थ्यकर्मीले गर्ने गरेका छन्। गतबर्षको गत फागुन १ गतेबाट जिल्लामा सुरू भएको स्वास्थ्य विमा कार्यक्रम सुरु भएको थियो । परिवारको स्वास्थ्य प्रति महिलाको चासो धेरै रहेको डा.न्यौपानेको भनाई छ । राष्ट्रिय स्वास्थ्य बीमा नितिमा समेत नेपाली जनताको सम्रग स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनिकरणको ब्यवस्था गरी सेवालाई वित्तिय साधनको समतामुलक पहिचान लगाएत उल्लेख गरिएको अवस्थामा स्वास्थ्य विमाको महत्व बढ्दै गएपनि केही रोगको उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने समस्याबाट विमितले आक्रोश पोख्ने गरेको दर्ता सहयोगीको गुनासो छ । विमा सेवा लिएपछि सुचिकृत औषधी र सेवामा बेनी अस्पतालबाट ४३८ जना, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङबाट १ सय ४५ जनाले सेवा लिएकोमा बेनी अस्पताल १३ र दरवाङबाट १८ जना थप उपचारका लागि पोखरा रिफर गरिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ।

एक परिवारको ५ जना सदस्य भएमा बार्षिक २५ सय भुक्तान र सो भन्दा बढी भए प्रति सदस्य ४२५ रुपैयाँको दरले थप गरी एक परिवारले बार्षिक ५० हजारसम्मको औषधी, प्रयोगशाला, बहिरङ्ग, शल्यक्रिया, अन्तरङ्ग लगाएत नेपाल सरकारले निशुल्क उपलबध गराएका बाहेका सुविधा उपलब्ध हुने ब्यवस्था रहेको छ ।यसैविच जिल्लामा रहेका ६ वटा स्थानीय तहले समेत अति गरिव तथा विपन्न परिवारलाई स्वास्थ्य विमा सेवामा लाग्ने सेवाशुल्कलाई नगरपालिका र गाउँपालिकाको आन्तरिक स्रोतबाट उपलब्ध गराउने जनाएको छ ।