पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध खुलाउने प्रयास भएपनि निरन्तर खस्ने पहिरोका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । बेनी–दरबाङ सडकखण्डअन्तर्गत मंगला गाउँपालिका–२ बाबियाचौरमा पर्ने लाम्पाटामा सडक माथीबाट आएको पहिरोले सडक अबरुद्ध हुदाँ सवारीसाधन परिवर्तन गरी पहिरोस्थलबाट जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।

बुधबार देखी अवरुद्ध हटाउने प्रयास गरिएपनि लागतारको बर्षाले समस्या भइरहेको मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले बताए । उनले ब्रेकरको प्रयोग गरेर पहिलोस्थलमा रहेको ढुंगा पन्छाउने प्रयास गरिएपनि सफल नभएको बताए । बिहिबार दिउँसो थप पहिरो खसेपछि पहिरोस्थलबाट आवतजावत गर्ने सर्वसाधारलाई सास्ती भएको भएको छ ।

लाम्पाटामा आएको पहिरोका कारण बेनी–दरबाङ सडकखण्ड भएर चल्ने सवारीसाधन र यात्रुहरु बिच बाटोमै अलपत्र पर्ने गरेका छन् । सदरमुकाम बेनीबाट दरबाङका लागि छुट्ने यात्रुबाहक र मालबाहक सवारीसाधनहरु बाबियाचौर र दरबाङदेखि बेनीका लागि छुटेका सवारी लाम्पाटा क्षेत्रमा रोकिएका छन् ।

सडक अबरुद्ध बेनपछि पश्चिम म्याग्दी भेगको सदरमुकामसँग सिधा यातायात सेवाबाट सम्बन्धबिच्छेद हुनुका साथै तीनवटा गाउँपालिका, बागलुङ जिल्लाका तमान, लाम्मेला लगाएतका आधा दर्जन बस्तीमा खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत ढुवानी रोकिएको बावियाचौरबाट बेनीअनलाइनकर्मी केशव कँडेलले बताए । उनका अनुसार बिहिबार पटकपटक गरी पहिरो खसेको थियो ।

लाम्पाटा पहिरोमा जिल्ला समन्वय समिति अन्र्तरगत रहेको ड्रिलिप नामक संस्था मार्फत बर्षेनी करोडको हाराहारीमा खर्च भएपनि सदुपयोग हुन नसकेको स्थानीयबासीको गुनासो छ।‘करोडौ खर्च हुन समेत सदुपयोग हुन सकेको छैन । दिर्घकालिन योजनाको अभावमा बर्षेनी सास्ती खेप्नुपरेको छ’ दरवाङका चित्र पुनले भने । यसैबिच जिल्लाका अधिकांस सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुदाँ यात्रुले छोटो दुरीमा समेत चर्को भाडा तिर्न बाध्य छन् ।