मंगला गाउँपालिका–५ अर्मनको हाँडेभीरमा म्याग्दी नदीले कटान गरेको छ । आसपासका क्षेत्रमा रहेका बस्तीहरू समेत जोखिममा परेको छन् । बेनी–दरवाङ सडकखण्ड अन्र्तरगत बावियाचौरको लाम्पाटामा पहिरो गएपछि बैकल्पिक मार्गको रुपमा समेत प्रयोग हुने हाँडेभीर आसपासमा नदीले धार परिवर्तन गरी कटान सुरु गरेपछि आवतजावतमा समेत समस्या देखिएको छ ।

नदी कटानले स्थानीय याम पुन लगाएतको खेतीयोग्य जमिन समेत जोखिममा परेको छ । ‘तत्काल कटान रोक्ने योजनाको आवश्यकता छ । नदीले धार परिवर्तन गरेमा बावियाचौर पारीका बस्तीलाई ठुलो क्षती पुग्नेछ’ स्थानीयबासीले भने ।

बावियाचौरको लाम्पाटामा खसेको पहिरोले अलपत्र परेका मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङका केही भेगमा जाने यात्रुहरुले बावियाचौरको झोलुङे पुल तरेर यसै क्षेत्र हुदै जाने गर्दछन् । अर्मनको पिपलबोट, नेटा, सिरकुम,धाराका साथै निस्कोट हुदै दरवाङका स्थानीयले दैनिकजसो यस मार्गको प्रयोग गर्ने गरेका छन्। नदी कटानले सडकमा ध्वाँजा फाटेको छ । खिम बुढा