म्याग्दीको बेनी नगरपालिका–५ गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथ मन्दिरको शुक्रबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयबासी लगायतले भजनकीर्तनका साथै भगवान् जगन्नाथको मूर्तिसहितको रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गराइएको थियो । सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यसहित हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन छ । यस दिन जगन्नाथ मन्दिरमा सरकारी भोजको आयोजना गरी खिर खाने प्रचलन रहेको आयोजकले जनाएको छ ।

भगवान् जगन्नाथको दर्शनका लागि अन्य समयमा व्यक्तिहरुले १ सय हात साफा ल्याएर आएमा मूर्ति हेर्ने अवसर दिइने परम्परा रहेको थियो । त्यसभन्दा बढीको ल्याएमा पनि मूर्ति देखाउनुपर्ने र तँछाडमछाड हुने भएकाले समितिमार्फत् पुरानो चलनलाई परिवर्तन गरी श्रावण शुक्लपक्ष द्वादशी तिथिको दिन रथयात्राको आयोजना गर्न थालिएको बताइएको छ ।

रथयात्रा कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले मठमन्दिर र धार्मिक क्षेत्रको संरक्षण एवं प्रवद्र्धन गर्नुपर्ने बताउँदै नगरपालिकामार्फत आवश्यक सहयोग गरिने बताएका छन् । नगर उपप्रमुख सन्जु बरुवालले धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकामार्फत बृत्तचित्र निर्माण गरी प्रचारप्रसार गरिने बताउनुभयो । । जगन्नाथको महत्व र सरकारी भोजका विषयमा पण्डित दण्डपाणि पौडेलले प्रकाश पारेका थिएभने कार्यक्रममा नगर कार्यकारी अधिकृतको विशिष्ट आतिथ्य रहेको थियो ।

जगन्नाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँको अध्यक्षता, सचिव निलकण्ठ शर्माको सञ्चालन र मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले स्वागत गरेको कार्यक्रममा बेनपा–४, ५ र ७ नम्बर वडाका अध्यक्षहरु क्रमशः लक्ष्मण बानियाँ, गोविन्द पौडेल, राजेन्द्रकुमार श्रेष्ठ र गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामचन्द्र पौडेललले मन्तव्य राखेका थिए ।

शुक्रबार सरकारी भोजको समेत आयोजना गरिएको हुँदा ३५ पाथी चामलको खिर समेत पकाइएको थियो भने कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लबलगायतले सहभागिता जनाएका थिए । यस वर्षको रथयात्रामा म्याग्दीसहित विभिन्न जिल्लाबाट भक्तजनहरु जगन्नाथ मन्दिर दर्शनका लागि आएको आयोजकले बताएको छ । वि.सं. १५५० मा राजा दिलिपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती उल्लेख रहेको छ ।

नेपालमै फरक स्वरुपको आजभन्दा ५ सय २४ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु रहेका छन् । राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथ बाबाको मूर्ति ल्याएर स्थापना गरेको बताइन्छ । जगन्नाथकै कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ ।