म्याग्दीको सदरमुकाम बेनीबाट प्रकाशित हुँदै आइरहेको बेनी साप्ताहिक पत्रिकाले शनिबार तेस्रो वार्षिकोत्सव मनाएको छ । २०७२ साल जेठ महिनादेखि प्रकाशनको आरम्भ गरेको पत्रिकाले विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक विकासमा सञ्चार क्षेत्रले उल्लेख्य भूमिका खेलेको बताएका छन् ।

उनले पत्रकार र सञ्चारमाध्यमले विकास निर्माण तथा जनप्रतिनिधिको काममा निरन्तर खबरदारी गर्नुपर्ने बताउँदै सञ्चार क्षेत्रको विकासका लागि नगरपालिकामार्फत आवश्यक पहल गरिने बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले हिँजोको समयमा पत्रकार बाँच्नुपर्ने थियो भने अहिले पत्रकारितालाई बचाउनुपर्ने अवस्था रहेको बताउँदै जिल्लामा क्रियाशिल सञ्चारमाध्यम र पत्रकार टिक्न सक्ने वातावरण निर्माणमा गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापाले पछिल्लो समय सामाजिक सञ्जालले सञ्चार क्षेत्रमा चुनौती थपेको बताउँदै सञ्चारमाध्यमहरुले खोजमूलक, सत्यतथ्य र सन्तुलित समाचार तथा विचारहरु पस्कनुपर्नेमा जोड दिएका थिए । नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले बेनी नगरपालिकालाई समृद्ध नगर बनाउन सञ्चारमाध्यमको विशेष भूमिका रहेको बताइन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले पत्रकारितामार्फत जिल्लाको विकासको सम्भावनालाई उजागर गर्नुपर्ने बताए ।

वार्षिकोत्सवको अवसरमा जिल्लाको परोपकारी क्षेत्रमा आर्थिक अभियान चलाएर सहयोग पु¥याउँदै आइरहेको संस्था ओमकुमारी शान्ति कोषलाई सम्मान गरिएको छ । यसैगरी पत्रिका प्रकाशनको शुरुवातदेखि सहयोग पु¥याएको भन्दै पत्रकारद्वय हरिकृष्ण गौतम र प्रताप बानियाँ, पत्रिकाका लेखा प्रमुख सावित्री सुवेदी र कम्प्युटर सेटिङ एवं पत्रिका डिजाइन बासुदेव घिमिरेलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले अबिर र खादा लगाई कदरपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सम्मानित संस्था तथा व्यक्तिहरुको तर्फदेखि ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले मन्तव्य राखेका थिए । कार्यक्रम पत्रिकाका प्रकाशक तथा सम्पादक ध्रुवसागर शर्माको अध्यक्षता तथा स्वागत र प्रधानसम्पादक शिव बानियाँको स्वागतमा सम्पन्न भएको थियो ।