भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगाएत विभिन्न कारणले जिल्लामा अधिकांस बस्ती पहिरोको चपेटामा परेको भन्दै पहिरो प्रभावित क्षेत्रका बासिन्दाले जिल्लालाई पहिरोबाट अति जोखिम जिल्ला घोषणाको माग गरेका छन् ।

जिल्लाभर करिव एक हजार घरधुरी र ५ हजार जनसंख्या पहिरोको उच्च जोखिममा रहेको जिल्ला भु–संरक्षण कार्यालयका प्रमुख दिवाकर पौडेलले बताए । उनका अनुसार जिल्लाको भूगोलको भिरालोपनालाई आँकलन गर्दा ६१% भूभाग ६० डिग्री भन्दा बढी भिरालोपनायुक्त र केवल ३६ % भूभाग १–६० डिग्री भिरालोपना भएको र केवल ३ % समथर भूभाग रहेको छ। क्षेत्रफलका हिसाबले २२९७.०६ वर्ग कि.मीं ओगटेको छ ।

भूक्षयको राष्ट्रिय आँकडालाई आधार मानेर हिसाब गर्दा मात्रै पनि म्याग्दी जिल्लाबाट बर्षेनी ३७,४५,६९० घनमीटर माटो भूक्षय भई यहाँका नदीखोलाहरु हुँदै बगेर खेर गइरहेको छ । ३० डिग्री भन्दा बढी भिरालो जमिनमा गह्रा नबनाई खेतीपाती गर्ने गरिएको हुँदा त्यस्ता ठाउंहरुमा भूक्षय, पहिरो जाने संभावना बढी रहेको पौडेलको भनाई छ । कुल क्षेत्रफलको ७० % जमिनमा साना र बांकी ३० % जमिनमा ठुला भूक्षय र पहिरोका समस्याहरु आउनसक्ने भएकाले पनि बाढीपहिरोको जोखिम जिल्लाको रुपमा म्याग्दीलाई चिनिने जानकारहरुको भनाई छ ।

‘पहिरोले बस्ती नै जोखिममा पारेपनि दुईचारवाट जाली दिने गरिन्छ । पहिरो प्रभावित जिल्ला नै घोषणा गरेर ठुलो आकारको बजेट आवश्यकता छ’ मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भने । उनले पहिरोले गाउँपालिकाको अर्मन किमचौर बस्ती नै उच्च जोखिममा परेको तथा आसपासका क्षेत्रमा चर्किनुका साथै बेनी दरवाङ सडकको लाम्पाटा, म्याग्दी नदीले कटान लगाएतका समस्यालाई समाधान गर्न विपद् ब्यवस्थापनमा ठुलो आकारको बजेट आवश्यकता रहेको बेनीअनलाइनलाई बताए ।

त्यस्तै मालिका गाउँपालिका–४ ओखरबोटका वडा अध्यक्ष दिलिप शेरचनले समेत ओखरबोट बस्ती पहिरोको उच्च जोखिममा रहेको बताए । उनले बस्ती संगै ओखरबोट मावीको विद्यालय भवन समेत पहिरोको जोखिममा परेकाले पहिरो ब्यवस्थापनमा सरकारी निकायबाट उपलब्ध बजेट न्यून भएको बताए । हरेक बर्ष बाढीपहिरोको क्षती नियन्त्रण गर्न नसक्नुमा प्रमुख कारण आवश्यक बजेट भएको बताउँदै स्थानीयबासीको जनश्रमदानले मात्रै सम्भव नभएको शेरचनको भनाई छ ।

जिल्ला भु–संरक्षण कार्यालयका अनुसार मालिका गाउँपालिकाको ओखरबोटको जुगेपानी पहिरोबाट ९३ घरधुरी, बेनी नगरपालिका–२,३तोराखेतका १९ घरधुरी, बेनपा–१० पात्लेखेत बाँन्द्रेखाल्टो पहिरोबाट ८० घरधुरी,बेनपा–५ पुलाचौरको चिप्लेटीमा ४६ घरधुरी, रघुगंगा गाउँपालिका–६ पाखापानी ४५ घरधुरी उच्च जोखिममा रहेका छन् ।

आधा दशक अगाडीसम्म समान्य मानिएका पहिरो अहिले नियन्त्रण बाहिर रहेका पहिरोको सूचीमा रहेका छन् ।अधिकांस पहिरो मानवबस्ती आसपासमा पुगेकाले दिर्घकालिन योजना लागु नभए ठुलो मानवीय क्षतीको सम्भावना रहेको जानकारहरुको भनाई छ। एउटा पहिरो दुईतीन वटा बस्तीसम्म फैलिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा सानोठुलो पहिरो रहेका छन्।