मनोकामना पुरा गर्न तीनदिनको पैदलयात्रा

0
310

अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराही मन्दिरमा सोमबार पुजाआजा गर्ने भक्तजनको भीड लागेको छ । आफ्नो मनोकामना पुरा हुन जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी– पोखरेबगर हुदै तीन दिनको पैदलयात्रामा सयौको संख्यामा जोखिमपुर्ण यात्रा गरेर भक्तजनहरू मन्दिरमा पुगेका थिए । पहिलोदिन पाउद्धार, दोस्रोदिन खयरक्षेत्र र तेस्रो दिन मन्दिरमा पुजा गरेर फर्कने गरेका छन् ।

‘प्रत्येकबर्ष भक्तजनहरूको संख्या बढ्दै गइरहेको छ । यसबर्ष भने केही कम भक्तजन देखियो‘ अर्जुन पुनले बेनीअनलाइनलाई भने। मन्दिरमा पुजा ब्यवस्थापनमा खटिएका पुनका अनुसार भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ अधिकांसले भेडाको साँडे बलि दिने गरेका छन् ।

समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा हिमालको फेदीमा अवस्थित मन्दिर नजक ताल रहेको छ । यसबर्ष म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आएका छन् । निकै कठिन यात्राका विच पुगिने मन्दिरमा भक्तजनहरूले चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन् । ‘धेरैले शिक्षा, ब्रिटिस आर्मी र बैदेशिक रोजगारमा सफलताको कामना गरेका छन् । केहीले राम्रो श्रीमान–श्रीमति चाहियो भन्दै माग्छन्’ पुजामा खटिएका यूवाले भने । पुजाआजामा हरेकबर्ष अविवाहित यूवाहरु खटिन्छन् ।

मन्दिर नजिक रहेको तालमा आफ्नो भाकल त्यहाँ रहेका पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा बर माग्ने गर्ने गरिएको छ । खरयभरानी मन्दिर तथा आसपासका रहेका ४ वटा मन्दिरमा पुजाआजा गर्ने ब्यवस्था मिलाइएको छ । बलीका लागि खयरक्षेत्रमा करिव ५ सयको हाराहारीमा साँडे पालिएको छ ।

बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपाने सहितको टोली समेत तीनदिन अगाडी मन्दिर दर्शनका लागि बेनीबाट प्रस्थान गरेको थियो । आफ्नो मनोकामना पुरा गरेरका भक्तजन र स्थानीयको प्रयासमा मन्दिरका साथै आसपासका क्षेत्रमा एक करोड भन्दा धेरै खर्च गरेर पूर्वाधार विस्तार गरिएको छ । स्थानिय खयरभारनी युवा क्लव र खयरबराह क्षेत्र विकास समितिको सयुक्त आयोजना पुजाआजाको ब्यवस्थापन गर्ने गरिन्छ । अहिलेसम्म संकलन भएको भेटी र म्याग्दीबाट विदेशमा बसेकाहरुको सहयोगमा मन्दिर निर्माण र बाटोमा चौतारो निर्माण गरिएको छ ।