धौलागिरि गाउँपालिकाको केन्द्रको विषयमा छलफल सुरू भएको छ । गाउँपालिकाको कार्यालय मुनामा सोमबार देखी सुरू भएको छलफलमा केन्द्रको स्थान लगाएतका विषयमा छलफल सुरू भएको जनाइएको छ ।

एक वडाबाट १० जनाको उपस्थिति रहेको छलफलमा गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, मराङ र मल्कवाङबाट विभिन्न राजनीतिक दल, समाजसेवी लगाएतको सहभागिता रहेको छ । गाउँपालिकाको केन्द्रका विवादमा केन्द्रित रहेन छलफलमा आफ्नो धारणा राख्ने क्रम जारी रहेको एक सहभागिले बेनीअनलाइनलाई बताए ।

गाँउपालिका प्रमुख थमसरा पुन, उपप्रमुख रेशम छन्त्याल, कार्यकारी अधिकृत कृष्ण प्रसाद गौतम, गाउँ कार्यपालिका सदस्यका साथै गाउँपालिकाका सबै वडा अध्यक्ष सहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ।सोमबार छलफल नटुंगिएपछि मंगलबार विहान बोलाइएको छ ।

गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाका सबै वडाले जित्ने गरी केन्द्रको विवाद टुंगो लगाउने बताएका थिए। स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले विवादित गाउँपालिकाको केन्द्रको जिम्मेबारी पुर्नसंरचना आयोगलाई दिएपछि आयोगले निर्वाचन अवधिभरका लागि मुना केन्द्र तोकेको थियो ।

अस्थायी केन्द्रको विवादमा साविकका गाविसहरु विच चर्को विवाद उत्पन्न भएको थियो । केन्द्रको माग लिएर पटकपटक जिल्ला देखी आयोग समक्ष पुगेका थिए । स्थानीय तहको निर्वाचन लगत्तै केही महिना विवाद साम्मे भएको थियो । गाउँपालिकाको केन्द्र ताकम र मुनामा दावी हुदै आएको छ । मुनाले अस्थायी केन्द्रलाई स्थायी बनाउनुपनेै माग गरेको छ भने ताकमले प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत आधारमा ताकम उपयुक्त भएको दावी गरेको छ । दुवैको विचमा रहेर समस्याको समाधान गर्नुपर्नेमा जनप्रतिनिधिहरुको समेत जोड देखिन्छ । छलफलबाट सहमतिमा हुन नसके जनप्रतिनिधिहरुको मतदानबाटै केन्द्र टुंगो लगाउने कानुनी प्रावधान रहेको छ ।

गतबर्षको कात्तिक १९ गते स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रका विषयमा धौवलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो । प्रस्तावित गरिएका साविकका गाविसले आफनो दावी गदैं आइरहेका छन् । यता रघुगंगा गाउँपालिकामा समेत आन्तरिक छलफल सुरु भएको छ । गाउँपालिकाको केन्द्र पाखापानी र मौवाफाँट वा तेस्रो विकल्पमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

तस्विर होम बहादुर थापा