‘फलानोलाई फलानो वर देऊ रे बराहनी माता’

0
386

अन्नपुर्ण गाउँपालिका–८ राम्चेको नागीस्थित रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नाङ्गी बराहनी मन्दिरमा सोमबार भक्तजनले पुजाआजा गरेका छन् । हरेकबर्ष जनैपूर्णिमाका दिन पुजा हुने भएपनि यसबर्ष ग्रहण लाग्ने भएकाले गत साउन १३ गते नागपञ्चमीको दिन नै जनैपूर्णिमा मनाइएपनि मन्दिरमा आज पुजा गरिएको छ ।

चन्द्रग्रहण लाग्ने भएकाले विहान २ बजेदेखी म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका श्रद्धालु भक्तजनहरुले पुजा गरेको हिमाञ्चल माविका शिक्षक कृष्ण पुनले बताउनुभयो । उहाँले विगतका बर्षको तुलनामा भक्तजनहरु कम देखिएका छन् । करिव १ सय ५० वटा भेडाको बली दिइएको थियो । आफ्नो मनको इच्छा पुरा हुने जनविश्वासले भक्तजनहरु आइतबार नै मन्दिर आसपासका क्षेत्रमा पुगेका थिए ।

समुन्द्री सतहबाट झण्डै २ हजार तीनसय मिटरको उचाइमा घना जङ्गलको बिच भागमा प्रसिद्ध नाङ्गी बराहनी मन्दिर रहेको छ । एकदुई पटक यहाँ आएर आफ्नो मनोकामना पुरा भएको बताउने भक्तजनहरु दोहो¥याएर पनि आउने छन् ।

यसपटकको जनैपूर्णिमामा आउने योजना गरेका भक्तजनहरु नआएकाले आगामी बर्ष भिड लाग्ने मन्दिर ब्यवस्थापन समितिको भनाई छ । गतवर्ष १० हजारबढी भक्तजनहरुले पुजा गरेका थिए ।

बराहनी माताको मन्दिर नजिकै रहेको तालमा पुगेर त्यहाँ खटिएका पुजारेलाई आफुले माग्ने वर भनेपछि उनीहरुले चर्को स्वरमा बर मागिदिने प्रचलन रहेको छ । पुजारेले चर्को स्वरमा ‘फलानोलाई फलानो वर दऊ रे बराहनी माता’ भन्दै कराएपछि अर्का पुजारेले तालभित्रबाट ल्याएको वस्तु वर माग्ने दर्शनार्थीलाई दिन्छन् । उक्त बर लिएपछि पछाडि समेत नफर्किकन तालदेखि तल ढोकाद्वारे देवताको थानसम्म झर्नुपर्ने परम्परा रहेको छ । आफ्नो मनकामना पुरा भएपछि पुनः वर्षदिनमा उक्त मन्दिरमा दर्शन गर्न जानेको संख्या पनि अत्यधिक बढेको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि झण्डै १० कोष उत्तर÷पूर्वमा पर्ने नाङ्गीगाउँमा करिब ४ घण्टाको कच्ची मोटरबाटोमा यातायातको साधन तथा एक दिनको पैदलयात्रापछि पुगिन्छ । मन्दिरमा दर्शन गर्न आउने अधिकांश भक्तजनहरुले बाख्राको पाठो र परेवाको बली दिने चलन रहेको छ भने नरिबल, धुपधजा र अछेता चढाउने गरिन्छ मन्दिरका पुजारी चन्द्रबहादुर खोरजाले बताउनुभयो ।

यस वर्षको जनैपूर्णिमामा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, गोरखा, चितवनलगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु नाङ्गी बराहनी माताको मन्दिर दर्शन र पुजाआजा गर्न पुगेका छन् । मनोकामना पुरा हुनेहुँदा नाङ्गी बराहनी माताको दर्शन गर्न र उनीसमक्ष वर माग्न आउने गरेको भक्तजनहरु बताउँछन् । फाईल तस्विर/प्रताप बानियाँ