साउनको चौथो सोमबार गलेश्वरमा भक्तजनको उपस्थिति न्युन

0
447

साउनको चौथो सोमबार गलेश्वरमा भक्तजनको उपस्थिति न्युनसाउनको चौथो सोमबार गलेश्वरमा भक्तजनको उपस्थिति न्युन
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित रहेको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा आज भक्तजनको उपस्थिति न्युन देखिएको छ ।

यस वर्षको साउनको चौथो सोमबार श्रावण शुक्लपूर्णिमामा राती चन्द्रग्रहण लाग्ने हुँदा त्यसैको प्रभावले श्रद्धालु भक्तजनको आवागमनमा कमी आएको हो ।  विगतका तीनओटा सोमबारका दिन उल्लेख्य मात्रामा भक्तजनहरु गलेश्वर मन्दिर दर्शन गर्न आएपनि चौथो सोमबार ग्रहण लाग्ने भएको हुँदा भक्तजनको सङ्ख्या न्युन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिरको दर्शन गर्न रातको समयमा भजनकिर्तन गर्न भन्दै पर्वतको कुश्मा र चुहाबाट दुइवटा भजन टोली गलेश्वर आएको मन्दिरका अध्यक्ष रुद्रबहादुर केसीले बताए । उनले चौथो सोमबार करिब १ हजार ५ सयजना मात्रै दर्शनार्थी मन्दिर आएको बताएका छन् । 

गलेश्वर मन्दिरमा साउन महिना र सोमबारका दिन म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । यसअघि पहिलो सोमबार ५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका थिएभने एकलाख ९२ हजार रुपैयाँ भेटी सङ्कलन भएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए । 

उनका अनुसार दोस्रो सोमबारमा १५ हजार भक्तजनले मन्दिरको दर्शन गर्नुका साथै २ लाख ७४ हजार भेटी सङ्कलन भएको थियो । त्यस्तै तेस्रो सोमबार १० हजार भक्तजन आएकोमा तीनलाख १० रुपैयाँ भेटी सङ्कलन भएको मन्दिरले जनाएको छ ।  खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ ।

सोमबारको दिन ब्रत बसेमा र शिवालय गएर पुजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिलाहरु आफ्नो श्रीमान्को दिर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् ।