राष्ट्रियता लोकतन्त्र र समाजवाद, महिला एकता जिन्दावाद’ भन्ने मूल नारासहित नेपाल महिला संघ म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा ७१औं स्थापना दिवस मनाएको छ ।

गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानसहित विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठद्वारा लिखित ‘महिला मुक्तिको आवाज’ पुस्तकको समेत विमोचन गरिएको नेपाल महिला संघले जनाएको छ । नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृतिमा दिवस मनाइएको संघले जानकारी दिएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले संस्थापक अध्यक्ष सिंहको फोटोमा माल्यार्पण र पुस्तकको विमोचन गर्दै विकास सँगसँगै पार्टीको काम गर्न महिला संघका जनप्रतिनिधिलाई निर्देशन दिएकी छिन् । उनले जनताको समस्या र गाउँको विकासलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिँदै लामो समयको अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधि आए पनि काम गर्न धेरै चुनौतीहरु रहेको बताइन् ।

नेपाल महिला संघको पूर्व केन्द्रीय सदस्य समेत रहेकी खड्कीले संविधानले धेरै अधिकारहरु दिएको हुँदा त्यसैअनुसार स्थानीय तहमा काम गर्नुपर्ने बताएकी छिन् । उनले अब हुने प्रदेश र केन्द्रको चुनावमा बाटोडाटाको हिसाबमा टिकट दिनुपर्ने आफ्नो पार्टीसमक्ष माग समेत गरेकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका वरिष्ठ सदस्य नेत्रबहादुर महतले कांग्रेसलाई बलियो बनाउन नेपाल महिला संघको भूमिका अपरिहार्य रहको बताएका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की, कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाल महिला संघ बागलुङका सभापति सकुन्तला शर्मा र कांग्रेस म्याग्दीका जिल्ला सदस्य मनकुमारी विश्वकर्माले मन्तव्य राखेका थिए ।

यसैगरी रघुगंगा गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, अन्नपूर्णका उपाध्यक्ष केशमाया मगर, जिल्ला समन्वय समिति म्याग्दीका सदस्य खिमकुमारी पूर्जा, रघुगंगा गाउँ कार्यपालिकाका सदस्य सम्झना परियारले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीसहित म्याग्दीका स्थानीय तहअन्तर्गत निर्वाचित गाउँपालिकाका उपाध्यक्ष, समन्वय समितिका सदस्य, वडाध्यक्ष, महिला सदस्य र गाउँ कार्यपालिका सदस्य गरी ४० जनालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमको अवसरमा सहभागी र अतिथिहरुलाई तीजको दर समेत खुवाइएको थियो । कार्यक्रम नेपाल महिला संघ म्याग्दीका सभापति बिमला गौचनको अध्यक्षता, सचिव सिर्जना श्रेष्ठको सञ्चालन र कोषाध्यक्ष सुगम श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।