म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार ४४औं भू–संरक्षण दिवस मनाइएको छ । ‘संघीयतामा जलाधार ः दीगो विकासको आधार’ भन्ने मूल नारासहित जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा जिल्लाको दुई ठाउँमा वृक्षारोपण कार्यक्रम आयोजना गरी दिवस मनाइएको जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

भू–संरक्षण कार्यालयको आयोजना, मालपोत कार्यालय, श्रीबक्स गुल्म अर्थुङ्गे र शान्तिमिलन सामुदायिक वन उपभोक्ता समितिसँग सहकार्य गरी वृक्षारोपण गरिएको छ । सदरमुकामस्थित मालपोत कार्यालयको परिसर, बेनी नगरपालिका–२ ज्यामरुककोटको बेनी–बगरफाँट हुँदै बराङ्जा जाने सडकखण्डअन्तर्गत हाँडेभिरनजिकै शान्तिमिलन सामुदायिक वनको खाली क्षेत्रमा वृक्षारोपण गरिएको थियो । 

वृक्षारोपण कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बिरुवा रोपेर उद्घाटन गरेका थिए । सडक फराकिलो बनाउने क्रममा खनेर फ्याँकिएको माटोलाई रोक्न तथा खाली ठाउँमा बिरुवा रोपण गरी हराभरा बनाउने उद्देश्यसहित वृक्षारोपण कार्यक्रम गरिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताए । खाली जग्गा तथा पाखोमा सिसौ, बकाईनो, पैयुँ, कल्की फुललगायतका विभिन्न प्रजातिका ३ सयवटा विरुवाहरु रोपिएको उनले जानकारी दिएका छन्।

वृक्षारोपण कार्यक्रमको औपचारिक शुरुवात गर्नुअघि भू–संरक्षण अधिकृत पौडेलले म्याग्दी जिल्लाको भू–क्षय तथा प्राकृतिक प्रकोप एवं रोकथाम लगायतका उपायका बारेमा जानकारी समेत गराएका थिए । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, जिल्लामा क्रियाशिल राजनीतिक दल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

भू–संरक्षण कार्यालयले पहिरोको उच्च जोखिम रहेका विभिन्न क्षेत्रमा भू–क्षय रोकथाम, बाढीपहिरो नियन्त्रण, विद्यालय संरक्षण, खानेपानीका मुहान तथा पोखरी निर्माण एवं संरक्षणका लागि विभिन्न योजनाहरु सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै बाढीपहिरोबाट व्यक्तिका घरमा पुगेको क्षति न्युनीकरणका लागि समेत कार्यालयले ग्याबिन तारजाली सहयोग गर्दै आइरहेको छ ।