जिल्लाका दुई गाउँपालिकले स्थायी केन्द्रको खोजिमा जुटेका छन् । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले धौलागिरि र रघुगंगा गाउँपालिकाको विवाद टुंगाउने जिम्मा तत्कालिन पुर्नरसंरचना आयोगलाई जिम्मा दिएपछि आयोगले निर्वाचन अवधिका लागि अस्थायी केन्द्र तोकेको थियो ।

स्थानीय तहको निर्वाचन सकिएको तीन महिना वितिसक्दा समेत स्थायी केन्द्रका बारेमा छलफल सुरू नभएको भन्दै जनप्रतिनिधिको समेत आलोचना सु्रू हुन थालेपछि धौलागिरि गाउँपालिकाले जनप्रतिनिधि, राजनीतिक दल लगाएतको उपस्थितिमा केन्द्रको समस्या समाधानको खोजी सुरू गरेको छ । अस्थायी केन्द्रको रुपमा रहेको साविकको मुना गाविसको कार्यालयमा दुईदिन देखी सुरु भएको छलफलमा हरेक वडाबाट १० जनाको सहभागिता रहेको छ ।

गाउँपालिकाको गुर्जा, लु्लाङ, मुना, मुदी, ताकम, मराङ र मल्कवाङका जनप्रतिनिधिहरू बाहेक राजनीतिक दलका स्थानीय नेताहरूको सहभागिता रहेको बैठकमा सबैको साझा केन्द्रको खोजी गरिने गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बेनीअनलाइनलाई बताए ।‘सबै जनताले जित्ने गरी केन्द्रको टुंगो लगाउने प्रयास भइरहेको छ ।सहमतिमै केन्द्रको विवाद अन्त्य हुनेछ’ छन्त्यालले भने ।

गाउँपालिकाको केन्द्रको विवादका कारण चालु आर्थिक बर्षको बजेट कार्यान्वयन सहित सम्रग योजनाहरू प्रभावित भएकाले केन्द्रको विवाद टुंगो लगाउन वडास्तरका जनप्रतिनिधिहरूले समेत माग गरेका थिए । अस्थायी केन्द्र मुनाले स्थायीको माग गरेको छ भने छिमेकी ताकमले प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत आयोगको मागदण्डका आधारमा केन्द्र तोक्नुपर्ने अधान राख्दै आइरहेको छ । केन्द्रको विषयमा सहमति नभएपछि विज्ञहरुको टोलीको सहयोग माग्ने सहमति भएको छ ।

यता रघुगंगा गाउँपालिकाले समेत सहमतिबाटै विवादको अन्त्य गर्ने प्रयास गरेको जनाएको छ । गाउँपालिका प्रमुख भब बहादुर भण्डारीले सबै वडाका प्रमुखहरूको टोलीले प्रधानमन्त्रीलाई भेटेर आफ्नो समस्या राख्ने तयारी गरेको बताए । ‘यहाँको समस्यालाई प्रधानमन्त्री समक्ष राख्नेछौ । दुईवटा केन्द्रको अवधारणामा छलफल भइरहेको छ’ प्रमुख भण्डारीले भने । उनले यसै महिनाको अन्त्यमा केन्द्रको विवाद अन्त्य गर्ने दावी गरे । अस्थायी केन्द्र पाखापानी र बहुमतले माग गरेको पिप्लेको मौवाफाँट बाहेक पनि तेस्रो विकल्पको चर्चा चलेपनि जनप्रतिनिधिले त्यसका बारेमा खु्लेर बोल्न सकेका छैनन् । केन्द्र विवादको मुद्धाले समेत निर्वाचनमा भूमिका खेलेको थियो । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।