लामो विवाद र प्रयासपछि म्याग्दीको धौलागिरि गाउँपालिकाको स्थायी केन्द्रको विवाद समाधान भएको छ । दुईदिन मुनामा जारी गाउँसभामा बहुमत सदस्यले वडा नम्बर ३ मा अवस्थित घट्टेखोला कायम गर्ने निर्णय गरेको गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बेनीअनलाइनलाई जानकारी दिए । दुईदिनको सभामा ताकम र मुनाले केन्द्रमा आफ्नो दावी गरेपछि सहमति जुट्न सकेको थिएन् ।

वडा अध्यक्ष सहितको जनप्रतिनिधि, गाउँकार्यपालिका सदस्य र हरेक वडाबाट सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी १० जनाको उपस्थितीमा भएको छलफलमा सहमति हुन नसकेपछि विज्ञहरूको टोलीको स्थलगत अनुगमन गरेपछि प्राप्त प्रतिवेदनको आधारमा आगामी असोज महिनामा केन्द्रको टुंगो लगाउने सहमति भएको थियो । तर बुधबार केन्द्रको विवादलाई लामो समयसम्म कायम राख्दा गाउँपालिकाका महत्वपुर्ण कार्यहरू ओझेलमा पर्ने,जनतालाई सास्ती हुने भन्दै गाउँसभाका एकतिहाई सदस्यहरूले हस्ताक्षर गरी गाउँसभालाई निरन्तरता दिन दवाव दिएका थिए ।

बुधबार दिउँसो ११ बजे सुरु भएको छलफल राती १० बजे केन्द्र निर्धारण गदैं सकिएको थियो ।गाउँसभामा रहेका ३७ सदस्य मध्ये २८ सदस्यले हस्ताक्षर गरेर घट्टेखोलामा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेका थिए । गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष झकप्रसाद छन्त्यालले दिएको जानकारी अनुसार ताकमका ४ सदस्यहरु सहित मल्कवाङ र मुदीका एक एक सदस्यले सो निर्णयमा असहमति जनाएका थिए ।बहमुत सदस्यको सहमतिमा गाउँपालिका भित्र कार्यालयहरू छरिएर बन्ने भएका छन्

सरकारी कार्यालयहरू ताकम र मुनामा
गाउँपालिकाको केन्द्रको विवादमा मुडभेडको अवस्थामा पुगेका ताकम र मुनाका जनप्रतिनिधिहरुकै उपस्थितीमा टुंगो लागेको केन्द्र संगै सेवाप्रदायक संस्थाहरू समेत धारापानी देखी ताकमसम्म राखिएको छ । गाउँपालिकाको केन्द्रमा ताकम र मुनाले आफ्नो अडान कायमै राखेपछि भएको छलफल र सहमतिमा साविकको ताकम गाविस अन्र्तरगत नै धेरै सरकारी कार्यालय परेका छन भने साविकको मुना गाविसमा केन्द्र लगाएतका कार्यालयहरु रहेका छन् । जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने गरी केन्द्र निर्धारणमा गाउँपालिका प्रमुख र उपप्रमुखले आफ्नो अडान कायम राखेपनि सहमतिको सम्भावना देखिएपछि केही सदस्यको असहमतिका विचमा केन्द्रको विवाद टुंगो लागेको थियो ।

बुधबार राती टुंगिएको केन्द्र अन्र्तरगत गाउँपालिकाको केन्द्रसंगै नापी, मालपोत लगाएतका कार्यालयहरू राखिने छ । अस्थायी केन्द्र रहेको मुनामा राजश्य तथा कर विभाग, वडा–७ ताकमको मच्छिमको महभीरमा महिला तथा बालबालिका कार्यालय, भू– संरक्षण, सिचाई, खानेपानी लगाएत भौतिक पूर्वाधारहरूका शाखा, सोही वडाको सिवाङमा शिक्षा कार्यालयको शाखा, क्याम्पस तथा उच्च शिक्षा सम्बन्धित कार्यालयहरु राखिने छ । उता लगातार केन्द्रको माग गरिरहको ताकममा कृषि, बन र पशुसेवा कार्यालयको पूर्वाधारहरुलाई यतावत राखिने र गाउँपालिकाको प्रवेशद्धार मानिएको धारापानीमा १५ सैयाँको अस्पताल बन्ने भएको छ ।

ताकम र मुनाले स्थायी केन्द्रका लागि आफ्नो अडानबाट पछाडी नहटेपछि बैकिल्पक केन्द्रका प्रस्तावहरूमा समेत सहमति हुन सकेको थिएन् । गाउँसभाको दुईतिहाई बढी सदस्यहरूको हस्ताक्षरबाट केन्द्रको टुंगो लागेपछि कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित गर्ने गााउँपालिकाले जनाएको छ । गतबर्षको कात्तिक १९ गते स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा केन्द्रका लागि ताकम र मुनाको दुवै नाम पठाइएपछि निर्वाचन प्रयोजनका लागि पुनसंरचना आयोगले अस्थायी केन्द्रको रुपमा मुनालाई तोकेको थियो । त्यसयता ताकमले प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत मापदण्डका आधारहरु आयोगले तोकेपनि मापदण्डको आधारमै केन्द्र बनाएको दावी स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको निर्णयमा असहमति जनाएको थियो भने मुनाले अस्थायीलाई स्थायी केन्द्रको माग गरेको थियो ।