अर्मनको हाँडेभिरमा कटानले एक घरमा क्षती, किमचौरका १५ घरधुरी उच्च जोखिममा

0
210

मंगला गाउँपालिका–५ अर्मनको हाँडेभीरमा गएराती उर्लिएर आएको म्याग्दी खोला थप कटान गरेको छ । खोलाकोे कटानका कारण जोखिममा परेको हाँडेभीर आसपासमा बुधबार राती एक्कासी म्याग्दी खोलाले एक घर भत्किएको छ ।
स्थानीय हरिप्रसाद पौडेलको घरमा क्षती पुगेको बावियाचौरबाट सहकर्मी खिम बुढाले जानकारी दिएका छन् ।

घरमा बसोबास नरहेकाले मानवीय क्षती नभएपछि कटानले आसपासका क्षेत्रमा क्षती पुर्याएको छ । बेनी–दरवाङ सडकखण्ड अन्र्तरगत बावियाचौरको लाम्पाटामा पहिरो गएपछि बैकल्पिक मार्गको रुपमा समेत प्रयोग हुने हाँडेभीर आसपासमा नदीले धार परिवर्तन गरी कटान सुरु गरेपछि आवतजावतमा समेत समस्या देखिएको छ ।

केहीदिन यता कटानले क्षती पुगेको हाँडेभीरमा खोलाले धार परिवर्तन गरेपछि थप क्षती भएको स्थानीयको भनाई छ । हाँडेभीर आसपासका खेतीयोग्य जमिनका साथै तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकी लगाएतका भवनहरुमा समेत असर गर्ने सक्ने भन्दै स्थानीयले पक्की तथबन्धको माग समेत गरेका छन् । नदी कटानले स्थानीय याम पुन लगाएतको खेतीयोग्य जमिन समेत जोखिममा परेको छ । ‘तत्काल कटान रोक्ने योजनाको आवश्यकता छ ।

नदीले धार परिवर्तन गरेमा बावियाचौर पारीका बस्तीलाई ठुलो क्षती पुग्नेछ’ स्थानीयबासीले बेनीअनलाइनलाई भने ।बावियाचौरको लाम्पाटामा खसेको पहिरोले अलपत्र परेका मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङका केही भेगमा जाने यात्रुहरुले बावियाचौरको झोलुङे पुल तरेर यसै क्षेत्र हुदै जाने गर्दछन् । अर्मनको पिपलबोट, नेटा, सिरकुम,धाराका साथै निस्कोट हुदै दरवाङका स्थानीयले दैनिकजसो यस मार्गको प्रयोग गर्ने गरेका छन्।

नदी कटानले सडकमा ध्वाजा फाटेको छ । यसैविच अर्मनकै किमचौरको पहिरोले करिव १५ घरधुरी उच्च जोखिममा रहेका छन् ।मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाको नेतृत्वमा पुगेको टोलीले किमचौरको अवलोकन गरेलगत्तै जिल्ला समन्वय समितिबाट अस्थायी रुपमा बस्तीमा खानेपानीको ब्यवस्था गर्न पाईप लगाएतका साम्रागीहरु पुर्याएपनि थप सहयोगको आवश्यकता रहेको रोकाले बेनीअनलाइनलाई जानकारी गराए ।

गाउँमा रहेका तीनवटा खानेपानीको मुहान मध्ये दुईवटामा क्षती पुगेको छ ।खानेपानीको अभावलाई समाधान र पहिरोबाट थप क्षती हुन नदिने गरी स्थानीयलाई आसपासका क्षेत्रमा रहेका बस्ती बस्न अनुरोध गरिएको छ । बस्ती माथिको जंगलबाट पहिरो खसेपछि रोकथामका लागि ठुलो बजेटको आवश्यकता देखिएको छ । बर्षातको समयमा खस्ने पहिरोले किमचौरबासी त्रसित भएका छन् ।