स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बुधबार क्याम्पस प्राङ्गणमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नजिकिँदै गरेको हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज–२०७४ को अवसर पारेर तीज नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय उपाध्यक्ष सुनिता बरालले समतामूलक समाजको निर्माण गर्नुपर्ने बताएकी छिन् । उनले समाज विकासका लागि महिला र पुरुष दुवैको आवश्यकता पर्ने भएको हुँदा २१औं शताब्दीको सभ्य समाज निर्माण गर्न महिला र पुरुष नै सँगसँगै हुनुपर्ने बताइन् ।

उपाध्यक्ष बरालले पछिल्लो समय देशमा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश लगायत विभिन्न क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको बताउँदै अझै पनि समाजको हरेक क्षेत्रमा महिलाको सार्थक सहभागिता हुन नसकेको बताइन् । समाजमा सबैभन्दा चेतनशील वर्ग विद्यार्थी भएकाले समतामूलक समाजको विकासका लागि विद्यार्थीको भूमिका आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पका भूतपूर्व स्ववियु सभापति खुमबहादुर बानियाँले क्याम्पसको चौतर्फी विकासका लागि स्ववियुले खेलेको भूमिका उल्लेख्य रहेको बताएका थिए । क्याम्पस प्रमुख टिकाराम सापकोटाले क्याम्पसको शैक्षिक उन्नयनका लागि स्ववियु, विद्यार्थी सङ्गठनलगायतको समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रमको अवसरमा स्ववियुले आयोजना गरेको तीज नृत्य प्रतियोगितामा विभिन्न ८ ओटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताबाट माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय प्रथम, म्याग्दी बहुमुखी क्याम्पस द्वितीय, न्यु वेष्ट प्वाइन्ट तृतीय र लिटिल गार्डेन एकेडेमी सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः १० हजार, ६ हजार, ३ हजार र १ हजार पाँचसय तथा प्रमाणपत्रले पुरस्कृत गरिएको स्ववियुले जनाएको छ ।

अनेरास्ववियु केन्द्रीय सदस्य प्रकाश पौडेल, केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, प्राध्यापक संघका प्रतिनिधि भोलानाथ घिमिरे, अनेरास्ववियु म्याग्दी जिल्ला अध्यक्ष सुवास विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा विद्यार्थीहरुले गीतसङ्गीत, नृत्य, हाँस्यव्यङ्ग्य र साहित्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार रवि कार्की, प्रजु विश्वकर्मा र बिमला श्रेष्ठले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रम स्ववियु सभापति सावित्रा खत्रीको अध्यक्षता, उपाध्यक्ष ईश्वर सुवेदीको स्वागत र सचिव दर्पण रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।