बेनी अस्पतालमा हड्डीको अप्रेसनमा प्रयोग हुने सिएम मेसिन जडान

0
400

बेनी अस्पतालमा हड्डीको अप्रेसनमा प्रयोग हुने सिएम मेसिन जडान गरिएको छ । जिल्लामै आधुनिक अपकरणको जडान गरी जटिल किसिमका अप्रेसन सेवा सञ्चालन गरिरहेको अस्पतालमा विभिन्न किसिमका दुर्घटनामा लागेको चोटको शल्यक्रियामा सघाउने सिएम मेसिनको प्रयोग सुरु गरिएको छ’ बेनी अस्पतलाका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरीटेण्डेण्ड डाक्टर रोशन न्यौपानेले बताए ।

‘हड्डीको शल्यक्रिया सेवालाई नियमित बनाउन मेसिन ल्याइएको छ ।मेसिनले समस्याको सहजै पहिचान गराउँछ‘ डा. न्यौपानेले भने । उनका अनुसार दुर्घटनामा भाचिएको हात, खुट्टा सहित शरीरका विभिन्न भागमा लागेको चोटको मेसिनको प्रयोग गरी पुरानै अवस्थामा ल्याउन शल्यक्रिया सहित अन्य उपचारका विधिहरू प्रयोग गरिन्छ । सिएम मेसिनको सहायताले शल्यक्रिया गर्ने क्रममा एक्सरे गर्नु नपर्ने, हड्डीमा तार हाल्ने लगाएतका जटिल अप्रेसनहरूलाई समेत सहज बनाउने डा. न्यौपानेको भनाई छ ।

अस्पताल विकास समितिले दुर्घटनमा अंगभङ्ग भएकाहरूको समेत उपचार अस्पतालमै गर्ने गरी सिएम मेसिन खरिद गर्ने तयारी गरेपनि डा न्यौपानेले जिल्लामा थप हुन लागेका सेवाका बारेमा विभागमा जानकारी गराएपछि अस्पताल विकास समितिले खरिद गर्न लागेको मेसिन रोकेर विभागबाट ल्याइएको थियो । हार्डजोर्नी विशेषज्ञ समेत रहेका डा. न्यौपानेले जिल्लामै गुणस्तरीय सेवा उपलब्ध गराउन थप योजनााहरू समेत बनाएको बताए ।

हड्डी सम्बन्धि समस्या लिएर पोखरा जाने विरामीले न्यूनतम ७ हजार देखी जटिल समस्या भएकाले ५० हजारभन्दा धेरै खर्च गर्ने गरेका छन् । सवारी तथा अन्य दुर्घटनमा परेका विरामीले सामान्य उपचार गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएपछि शल्यक्रिया सेवालाई प्रभावकारी बनाउने चिकित्सकको भनाई छ ।

पाठेघर बाहिर आन्द्रामा बच्चा बसेको, योनी भित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाईते, पिसावको थैलोमा भएका ढुङ्गा, पाठेघर, अण्डकोष तल नझरेको, एपेन्डिस, हड्डी, नसा चुडिएका विरामीको सफलतापूर्वक सल्यक्रिया हुन थालेपछि छिमेकी जिल्ला बागलुङको विकट बस्तीबाट समेत विरामी आउने गरेका छन् ।

चिकित्सा शिक्षा सम्बन्धि जर्नलमा समेत पाठेघर बाहिर जिवितै बच्चा भेटिनु ३० हजार गर्भवती महिलामा एकमा देखिने विरामीको समेत डा. धिरेन मल्लको नेतृत्वमा अस्पतालमै सफल शल्यक्रिया गरिएको थियो । अनुभवी चिकित्सकले परिवारले नै आस मारेका विरामीको समेत सफल उपचार गर्न थालेपछि वेडको अभावमा अतिरिक्त सैयाको ब्यवस्था समेत गरिएको छ ।

अस्पतालमा आधुनिक एक्सरे मेसिन, भिडियो एक्सरे, महिला, बालबालिकाको उपचारमा आवश्यक पर्ने मेसिन, अप्रेसनमा प्रयोग हुने जनरल एनेस्थेसिया जिए मेसिन लगाएत देशभरका जिल्ला अस्पतालमा निकै कम पाईने आधुनिक उपकरणहरू निक साईमन,विभिन्न संघसंस्थाबाट सहयोगर अस्पतालले खरिद गरिएको छ ।

पुरानो भवन जिर्ण अवस्थामा रहेकाले नयाँ भवनबाट समेत सेवालाई प्रभावकारी बनाउने तथा नयाँ सेवालाई समेत निरन्तरता दिने अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीले बेनीअनलाइनलाई बताए । उनले पुननिर्माणको क्रममा समेत अस्थायी र माथिल्लो भवनबाट दिइने सेवाका बारेमा गुनासो आए तत्कालै समाधान गरिने बताए । अस्पतालले आर्थिक अवस्था कमजोर भएका र गम्भीर अवस्थामा आएका विरामीको अस्पतालमा सफल उपचार हुन थालेपछि विरामीको संख्या बढ्न थालेको छ ।