म्याग्देली कराँते खेलाडी बने बंगलादेशमा च्याम्पिएन

0
262

म्याग्देली कराँते खेलाडी बने बंगलादेशमा च्याम्पिएननियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडी पादैं म्याग्दीका चार कराँते खेलाडीले स्वर्ण पदक जितेका छन् । साक राष्ट्र बंगलादेशमा आयोजित कराँते प्रतियोगितामा बंगलादेशमा पुगेका चन्द्र बुढा, गौरव घर्तीमगर, प्रजोल शेरचन र मार्सल गर्बुजाले स्वर्ण पदक जितेका हुन् ।

‘निकै उत्साहित छौ,हामीले गरेको अभ्यासबाट पनि विदेशी भूमिमा उपाधी जित्न सकिने रहेछ’ चन्द्र बुढाले बंगलादेशबाट बेनीअनलाइनलाई भने । उनले नयाँ किसिमको कराँते खेल भएपनि आफुँहरुले सिकेको आधारमा खेलेको बताए ।

उनले नेपालजस्तै देशहरूले समेत प्रयाप्त बजेटमा खेलाडीलाई आवश्यक सुविधा उपलब्ध गराएर प्रतियोगितामा सहभागिता जनाउने गरेको बताउँदै नेपालमा समेत खेलाडीलाई प्रशिक्षण सहितको सुविधा भए अन्र्तराष्ट्रिय खेलबाट उपाधी जित्न कुनै समस्या नभएको बताए । म्याग्दीमा विद्यालयमा प्रशिक्षण सहित अभ्यास गरेर समेत राष्ट्रिय तथा सार्कस्तरीय खेलमा उपाधी जितेका बुढाले विदेशमा खेलेको सीपलाई ब्यक्तिगत लगानीमा समेत नियमित गर्नुपर्ने बताए ।

प्रतियोगितामा सहभागि हुन पुगेका बुढाले ६७ केजी, गौरव घर्ती ६० केजी, प्रजोल शेरचन ५० केजी र मार्सल गर्बुजाले ३५ केजी तौल समुहका खेलाडीसंग प्रतिस्पर्धा गरेका थिए । ‘साकस्तरीय कराँतेमा नेपालका खेलाडीलाई बलियो दाबेदार मानिन्छ । खेलाडीलाई समेत राम्रो सम्मान हुन्छ’ बुढाले भने।

उनले खेलकुद प्रतियोगितामा खेलाडीले राम्रो खेल देखाउन सकेमा देश गरिव भएपनि खेलाडीकै कारण देशलाई समेत सम्मान गर्ने गरिएको बताउँदै विश्वमा नेपाललाई खेलकुदबाटै चिनाउन सकिने खेल कराँते भएकाले जिल्ला,अञ्चल, क्षेत्र देखी राष्ट्रियस्तरसम्म खेलाडीलाई खेलमा प्रोत्साहन गर्ने निति सरकारले गर्नुपर्नेमा जोड दिए ।

गतबर्ष राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलस्तरीय कराँते खेलका सर्वोउत्कृष्ट खेलाडी समेत घोषित बुढाले विदेशी खेलाडीसंग खेल्ने क्रममा सिकेको सीपलाई आफुँले समेत प्रशिक्षणमा प्रयोग गर्ने बताए । यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वर्काले म्याग्दीको लागी सुखद् समाचार भएको बताए।

‘खेलमा सहभागी चारजना खेलाडीले स्वर्णपदक जित्नुलाई जिल्लाको ठुलो उपलब्धीका रुपमा लिएको छु’ विश्वकर्माले बेनीअनलाइनलाई भने । उनले स्थानीयस्तरमा समितिमार्फत उपलब्ध स्रोतसाधनलाई प्रयोग गरेर खेलकुद गतिविधिलाई प्रोत्साहन गरिरहेको बताउँदै कराँते र भलिबल जिल्लाबाट उपलब्धी हासिल गर्न सक्ने खेल भएको बताए । म्याग्दीमा ब्यवसायीक कराँते प्रशिक्षण भइरहेकाले पनि खेलाडीहरूलाई सहज भएको छ ।