जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालित अधिकांस औषधी पसल अवैध भेटिएका छन् । सरकारी अनुमति विना अवैध रुपमा खुलेका फार्मेसी र क्लिनिक पसललाई कान्ुनी प्रक्रिया पुरा गर्न पटक पटक ताकेता गर्दा सेमत प्रक्रियामा आउन लिखित तथा सुचना प्रसारण गर्दा समेत अटेर गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय पत्रपत्रिका, रेडियो, ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकी लगाएत विभिन्न माध्यमबाट दर्ता प्रक्रिया पुरा गरेर सञ्चालन गर्न निर्देशन दिएपनि अटेर गरेको बेनी अस्पताल तथा जनस्वास्थ्य कार्यालयका प्रमुख डा.बरिष्ठ मेडिकल सुपरिटेन्डेन रोशन न्यौपानेले बताए ।‘प्रत्येक्ष अनुगमन गर्ने अधिकारी छैन,धेरै गुनासो आउन थालेपछि अनुमति लिन दवाव दिइरहेका छौ’ डा. न्यौपानेले बेनीअनलाइनलाई भने । उनले सदरमुकाम बेनीमा रहेका औषधी पसलहरू औषधी ब्यवस्था विभागबाटअनुमति लिएर सञ्चालन भइरहेको भेटिएपनि सदरमुकाम बाहिरका धेरैजसो औषधी पसलहरू अवैध रहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार अनुगमन तथा डेन्टल क्लिनिका लागि आवश्यक पूर्वाधार, जनशक्ती लगाएत विभिन्न आधारमा दर्ता तथा नविकरण गर्ने गरेको छ ।जनस्वास्थ्य कार्यालयका अनुसार बेनीबजारमा १६ वटा फार्मेसी तथा औषधी पसल अनुमति लिएर सञ्चालन भइरहेको छ भने सदरमुकाम बाहिर जम्मा ५ वटाले औषधी ब्यवस्था विभागबाट अनुमति लिएका छन् ।‘स्वास्थ्यकर्मीहरूकै औषधी पसल अवैध छन्, अनुमति लिन अनुरोध गर्दा समेत बेवास्ता गर्दछन्’ जनस्वास्थ्यका एक कर्मचारीले भने ।

बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको केन्द्रका साथै वडास्तरसम्म गैरकानुनी रुपमा सञ्चालित औषधी पसल रहेका छन् । अवैध रुपमा रहेका औषधी पसलले विरामी भर्ना गर्ने, आफुँखुसी औषधी दिने, उपकरणहरू जडान गरेर विरामीको उपचार गर्ने गरेको पाइएको छ । ग्रामिण क्षेत्रमा अति ब्यस्त मानिने बजारहरूमा रहेका औषधी पसलका बारेमा सेवाग्राहीले समेत गुनासो गर्ने गरेपनि नियमितमा सम्बन्धित निकायले चासो देखाएको छैन् ।

दैनिक १० देखी ५० जनासम्म विरामीको चेकजाँच गर्ने फार्मेसीहरू आफ्नो ब्यक्तिगत नाम राखेर बर्षौ देखी औषधी पसल चलाइरहेका छन् ।‘खाद्य साम्रागी, मदिरा र औषधी समेत एकैठाउँमा भेटिन्छन्’ मालिका गाउँपालिकाको केन्द्र दरवाङका एक यूवाले भने । दरवाङमा रहेका औषधी पसलहरूले नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा समेत पुग्नबाट बन्चित गरिरहेका छन्। जिल्लाको दोस्रो ब्यापारिक केन्द्र समेत रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा रहेका औषधी पसल समेत प्रक्रिया पुरा नगरी संचालन भइरहेका छन् ।

औषधी ब्यवस्था विभागबाट तालिम प्राप्त कर्मचारी वा फार्मेसी अध्ययन गरेकाहरूको ब्यवस्थामा हुने गरी दर्ता गर्ने प्रावधान भएपनि धेरैले त्यो मापदण्ड पुरा गर्न नसक्न भएकाले पनि दर्ताप्रति अनिच्छुक भएको अनुमान स्वास्थ्य कार्यालयको रहेको छ । केही फार्मेसीले गम्भीर प्रकृतिका बिरामीलाई समेत भर्ना गरेर राख्ने र निको नभएपछि रिफर गर्ने गरेको पाइएको छ । त्यस्तै कानुनले बर्जित गरेका तथा सम्बन्धित निकायबाट अनुमति लिएर विक्री–वितरण गर्नुपर्ने औषधी समेत खुलेआम बिक्री हुदाँ समेत त्यसको नियमन हुन सकेको छैन् ।

जिल्ला स्वास्थ्य कार्यालयले स्थलगत अनुगमन तथा विवरण संकलनमा नगरउन्मुख क्षेत्रका साथै साविकका गाविसहरूबाट संकलन गरेको विवरण अनुसार ८० औषधी पसल रहेका भेटिएका थिए । त्यस्तै किराना पसलमा राखिएको औषधी र निश्चित समयको तालिम लिएर झोलामा औषधी पसल संचालन गर्नेको संख्या करिव ४० को हाराहारीमा रहेको पाइएको थियो । दुईबर्ष यता औषधी पसलको अनुगमन समेत हुन सकेको छैन् ।

यता प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले अवैध रुपमा सञ्चालित औषधी पसल भेटिएमा कडा कारवाही गरिने बताए। ‘धेरैपटक मसंग पनि गुनासो आएको छ । अव गुनासो आएका सबैक्षेत्रमा पुगेर अनुगमन गरिन्छ’ प्रजिअ पौडेलले भने । उनले स्थानीय निकायसंग समेत सहकार्य गरेर कानुनी प्रक्रिया पुरा नगरेका औषधी पसल बन्द गराउने बताए । अवैध औषधी पसलका कारण लागुपर्दाथ दुब्र्यसनीलाई समेत सहज भएको छ । यसैविच अवैध औषधी पसलको बारेमा गुनासो आएपछि गाउँपालिका प्रमुखले समेत अनुगमन र कानुनी प्रक्रियामा ल्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।