काठमाडौं, भाद्र ४ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिको सरकार बन्ने सम्भावना धेरै कम रहेको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा दाहालले अहिलेसम्मको वार्तामा सहमतिको सरकार गठनभन्दा दलहरु टाढा रहेको बताए ।

‘यथार्थमा हामी सहमतिको सरकार गठनको धेरै नजिक छैनौं,’ उनले भने, ‘अहिलेसम्म सहमतिको सरकार गठनका लागि भएको प्रयास र घनिभूत वार्तापछि सहमतिको सरकार गठन हुने सम्भावना चाँही कम देख्छु ।’

दाहालले सवैको चाहना राष्ट्रिय सहमतिको सरकार भए पनि आधार कमजोर रहेको उल्लेख गरे । ‘म असाध्यै आशावादी भएकाले सहमतिकै सरकार बनोस् भन्ने चाहन्छु,’ सहमतिको सरकार गठनका लागि तीन दिनको समय लगत्तै भएको कार्यक्रममा उनले भने, ‘तर तीन दिनभित्र पनि सहमति होला भने निर्धक्क हुने आधार चाँही छैन ।’

अरु नेतालाई पनि आशा छैन

दाहालमात्र होइन सहमतिको सरकार गठनका विषयमा अन्य दलका नेताहरुले आशा मारेका छन् ।

प्रधानमन्त्रीले गत साउन २९ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आइतबारसम्म राष्ट्रपति रामवरण यादवले समय दिएका थिए । दलहरुले समय नपुगेको भनेपछि राष्ट्रपतिले फेरि तीन दिनको समय थपेका छन् ।

कांग्रेस सभापति सुशील कोइरालाले सहमतिको सरकार गठन हुन सक्ने ठोकुवा गरेनन् । सर्वदलीय बैठकपछि आइतबार उनले भने, ‘अब हेर्दै जाऊँ ।’

एमाले महासचिव ईश्वर पोखरेलले पनि सहमतिका लागि शान्ति प्रक्रियामा जोडिएका खास गरी हतियार र लडाकुका विषयमा टुङ्गो नलागेसम्म माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने दाबी गरे । ‘यस्तो अवस्थामा सहमतिको कुरा गर्नु सुन्दर सपनामात्रै हुन्छ,’ उनले भने ।

माले महासचिव सिपी मैनालीले ठूला दलहरुले हालसम्मको दिएको वार्ताको विवरणका आधारमा सहमतिका लागि सम्भावना र कठिनाइ दुवै विद्यमान रहेको बताए ।
साभार इकान्तिपुर