म्याग्दीको पर्यटन विकासका लागि ‘बेनी भ्रमण वर्ष २०७५’ को तयारी

0

(धु्रबसागर शर्मा)

पर्यटकीय संभावनाले युक्त म्याग्दी जिल्लालाई राष्ट्रिय,अन्तराष्ट्रि रुपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्लामा भित्राउने उद्धेश्यले २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ को रुपमा मनाउने तयारी शुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवम् परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अगुवाइमा जिल्लाका युवाहरुले सरोकारवाला संघसंस्थाहरुसंग सहकार्य गरेर ‘बेनी भ्रमण वर्ष २०७५’ अभियानको तयारी शुरु गरेका हुन् । प्रवासी म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भ्रमण वर्षका कार्यक्रम अघि बढाइने ‘बेनी भ्रमण वर्ष २०७५’ का अभियन्ता शाक्यले बताउनुभयो ।

अवको केही दिनमा नै भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइने तयारी भइरहेको अभियन्ता शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार भ्रमण वर्ष सुरु हुनु अघि नै पर्यटकीय गन्तव्यहरुको यु ट्युव भिडियो, ब्रोसर, वेवसाइट, होर्डिङ बोर्ड, पुस्तक आदि बनाएर तीब्ररुपमा प्रचारप्रसारको काम अघि बढाइने छ ।

‘२०७५साल भरीमा म्याग्दीमा ५० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने योजना सहित ‘बेनी भ्रमण वर्ष २०७५’ को आयोजना गर्न लागेका हौं’ शाक्यले भन्नुभयो, “मुक्तिनाथ प्रवेशद्धार,गलेश्वर धाम,घोडेपानी,पुनहिल,रुप्से र अन्धगल्छीले मात्र म्याग्दीको पहिचान अधुरो हुन्छ । ती बाहेक पनि म्याग्दीमा महिनौं दिनसम्म घुम्न,प्राकृतिक सौन्दर्यको आनन्द लिन र सिक्न सकिने ठाउँहरु रहेका छन् ।

ती ठाउँसम्म पर्यटकलाई पु¥याउन चाहन्छौँ ।” अन्नपूर्ण सर्किट, लोमान्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथ लगायत गन्तव्य घुम्नेहरुका साथै अरु पर्यटकलाई समेत म्याग्दीका गन्तव्यहरुसंग परिचित गराउने भ्रमण वर्षको उद्धेश्य हो । शाक्यले भन्नुभयो । अहिलेदेखि नै जिल्लाका एक नगरपालिका सहित पाँचवटै गाउँपालिकाका सम्भाव्य पर्यटकीय स्थलहरुको जानकारी लिने र त्यहाँका वासिन्दाहरुलाई होमस्टे,पदमार्ग,सरसफाई लगाएतका पूर्वाधार निर्माणका लागि जानकारी दिने काम भइरहेको शाक्यले बताउनुभयो ।

त्यसैगरी भ्रमण वर्ष सफल बनाउन व्यापकरुपमा प्रचारप्रसारको तयारी शुरु भएको छ । भ्रमण वर्षभरि उत्कृष्ट समाचार लेख्ने पत्रिका, टिभी, अनलाईन र एफएमका केही पत्रकारलाई आकर्षक नगद पुरस्कारसहित भ्रमण वर्षको समापनमा सम्मान गरिने योजना रहेको शाक्यले बताउनुभएको छ ।

प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाले युक्त म्याग्दी जिल्लाको सम्वन्ध धार्मिक र ऐतिहाँसिक पात्रहरुसंग पनि जोडिएको छ । यो जिल्ला पुराणमा उल्लेखित क्रृषिमुनिहरुको तपोभूमि,धार्मिक ग्रन्थ रामायणमा उल्लेखित रावणको जन्मभूमि,ऐतिहाँसिक स्थल र पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण भूमिका रुपमा परिचति छ ।यहाँ राजा रहुगण र क्रृषि जडभरतले तपस्या गरेका श्रीमदु भागवत तथा मत्स्य पुराणमा समेत उल्लेख गरिएको छ । ती क्षेत्रहरु अझैसम्म पनि पर्यटकीय आकर्षणका क्षेत्र बन्न सकिरहेका छैनन् ।