बेनी नगरपालिका–३ भकिम्ली छेपारेका १० बर्षिया प्रकाश विकले गत आईतारबा साँझ आत्महत्या गरे ।गाउँमा रहेको मुसुङडोल आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययरत विकले विद्यालयबाट घर फर्किएलगत्तै केही समयमै आत्महत्याको बाटो रोजेका थिए । करिव एकदशक यता सबैभन्दा कम उमेरमा आत्महत्या गर्नेको सुचीमा रहेका विकले किन र के कारणले मृत्यु रोजे भन्नेमा अभिभावक समेत अनविज्ञ छन् ।

गतबर्ष बेनपा–१ रत्नेचौरका २५ बर्षिय कृष्ण बहादुर थापाले गाउँ नजिकको भीरबाट हाम फालेर ज्यान गुमाए । विदेशबाट आएका दाजुको विवाहकै दिनमा मृत्यु रोजेका थापा मानसिक समस्याबाट ग्रसित थिए ।त्यस्तै बेनपा–३ भकिम्लीका २८ बर्षिय सन्देश पुनले दुईबर्षको विचमा आत्महत्या गरे । एकबर्ष यता जिल्ला प्रहरी कार्यालयको घटना विवरणमा हेर्दा उमेरले ३० बर्षमा प्रवेश नगरेका यूवायूवतीले अन्तिम विकल्पका रुपमा प्राण त्याग गर्ने १५ जना मध्ये ७ जना कलिलै उमेरका भेटिन्छन्।

जिल्लामा डरलाग्दो समस्याका रुपमा देखिएको आत्महत्याको बाटो रोज्नेमा अशिक्षा, अनिच्छित गर्भधारण, मानसीक रोगीलाई उपचारको अभाव, आर्थिक समस्या, गरिवी, अशिक्षा,सामाजिक कुरिती, दिर्घरोगी,आवेक,असफलता,उच्च महत्वकांक्षा पुरा गर्न नसकेका,प्रेममा असफलता,बैदेशिक रोजगारमा गएका श्रीमानले पठाएको रकम दुरुपयोग गरी परपुरुषसंगको अनैतिक सम्बन्ध लगाएतको रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

साउन महिनामै दुईजनाले आत्महत्या गरेका छन् ।दुईजना महिलालाई कालिगण्डकी नदीमाबाट यूवाहरूले उद्धार गरेर प्रहरी र आफन्तको जिम्मा लगाए। ‘आत्महत्या डरलाग्दो सामाजिक समस्या बनेको छ,मैले न्यूनिकरणका लागि सचेतनामुलक अभियानलाई प्राथमिकता दिएको छु’ प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बेनी अनलाइनलाई भनिन् ।

उनले म्याग्दी जस्तो सानो जिल्लामा बार्षिक २० जनाभन्दा धेरैले आत्महत्या गर्नु जटिल समस्या भएको बताउँदै विद्यालय, सार्वजनिक महत्वका कार्यक्रमहरुका साथै ग्रामिण क्षेत्रमा रहेका संघसंस्थामार्फत अभियान सञ्चालन गर्न सकिने बताए ।

तनाव र डिप्रेसन जस्ता मानसीक समस्याहरू आत्महत्याका मार्ग बनिरहेको बताउँदै रोकथामका लागि परिवारबाटै पहिलो प्रयास हुनुपर्ने प्रनाउ खड्काको भनाई छ । डिप्रेसन जस्ता मानसिक समस्याहरु आत्महत्याका मार्ग भएकाले यसलाइ्र्र रोकथाम गर्न परिवारबाटै पहिलो प्रयास हुनुपर्ने प्रनाउ खड्काको भनाई छ । प्राथमिक तहका अध्ययन गर्ने विद्यार्थी देखी ८० बर्ष उमेर काटेका बृद्धबृद्धाहरूले आत्महत्या गरेको भेटिएको बेनी अस्पतालका डा. धिरेन मल्लले बताए ।

उनले यूवा अवस्थामा आफ्नो मागहरू पुरा गर्न अस्वीकार गर्ने अभिभावकलाई देखाउन समेत आत्महत्याको बाटो रोज्ने गरेको समेत बताए । ‘धर्य गर्ने क्षमताको विकास नहुदाँ क्षणभरको निर्णयमा आत्महत्या गर्छन्’ डा.मल्लले भने । मनोचिकित्सा सम्बन्धि विभिन्न तालिम र गोष्ठीको अनुभव समेत रहेका डा.मल्लका अनुसार मानसीक विचलन प्रमु्ख समस्या भएको बताए । उनले परिवारमा छोराछोरी र आफन्तबाट समेत तनाव दिने बृद्धबृद्धाले समेत आत्महत्या रोजेको बताए ।

मानिसको केहीदिनको दैनिकी, आफन्त, साथीहरू संग गर्ने ब्यवहार, बोल्ने शब्द, विगत र वर्तमानको स्वास्थ्य अवस्था लगाएत फरक दैनिकीलाई निगरानी गरी उचित उपचारको खोजी गरे घटना न्यूनिकरण गर्न सहज हुने चिकित्सकको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक बर्ष ७२÷७३ मा २४ जना, ७३÷७४ मा १५ जना र चालु् आर्थिक बर्षको साउन महिनामा २ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुष र महिला करिव बराबरी छन् । यसैविच सदरमुकाम बेनीमा मानवअधिकार आयोगले आयोजना गरेको जिल्लामा मानवअधिकारका पाँच प्राथमिक विषय निर्धारण विषयक अन्र्तरक्रिया कार्यक्रममा सहभागिले समेत आत्महत्या जटिल समस्याका रुपमा औलाएका थिए ।