म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यस वर्षको साउन महिनामा परेका पाँचवटा सोमबारहरुमा मात्रै गलेश्वर मन्दिरमा कुल ७० हजारभन्दा बढी भक्तजनहरु भित्रिएका छन् ।

देशका विभिन्न स्थानबाट ७० हजार बढी भक्तजनहरु भित्रिएको र ४ वटा सोमबारमा मात्रै करिब ९ लाख रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भगवान् शिवको प्रिय महिना साउन र सोमबारका दिनहरुमा गलेश्वर शिवालयमा पुजाआजा गर्न भक्तजनहरुको घुइँचो लागेको थियो । साउनको पहिलो सोमबार अपेक्षा गरेभन्दा कम सङ्ख्यामा भक्तजहरु आए पनि दोस्रो र तेस्रो सोमबारमा भक्तजनको आवागमनमा वृद्धि भएको थियो ।

यसैगरी चौथो सोमबार श्रावण शुक्ल पूर्णिमामा राती चन्द्रग्रहण लागेको हुँदा त्यसैको प्रभावले श्रद्धालु भक्तजनको उपस्थिति न्युन भएको थियो भने अन्तिम अर्थात् पाँचौं सोमबार सबैभन्दा धेरै भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।

साउन महिनाको पहिलो सोमबार ५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका थिएभने एकलाख ९२ हजार रुपैयाँ भेटी सङ्कलन भएको उनले बताए । त्यस्तै दोस्रो सोमबारमा १५ हजार भक्तजनले मन्दिरको दर्शन गर्नुका साथै २ लाख ७४ हजार भेटी सङ्कलन भएको थियो भने तेस्रो सोमबार १० हजार भक्तजन आएकोमा तीनलाख १० हजार रुपैयाँ भेटी सङ्कलन भएको मन्दिरले जनाएको छ ।

त्यसैगरी चौथो सोमबार २ हजार बढी भक्तजनले दर्शन गर्नुका साथै एकलाख १३ हजार रुपैयाँ भेटी सङ्कलन भएको सचिव बानियाँको भनाई छ । गलेश्वर शिवालय मन्दिरमा यसवर्ष म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, स्याङ्जा, नवलपरासी, बाँके, बर्दिया, काठामाडौंलगायत विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले बताएका छन् ।

भक्तजनलाई सहज तरिकाले दर्शन गर्ने व्यवस्था मिलाउनका लागि जिल्लास्थित विभिन्न कार्यालय, संघसंस्था र विद्यालयले स्वयंसेवा गरेका थिए । सत्ययुगमा सतीदेवीको गला पतन भई गलेश्वर नाम रहन गएको र मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिएको गलेश्वरमा पछिल्लो समय भक्तजनको भीड बढ्दै गएको बताइएको छ ।

साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पुरा होस् भनी चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्दछन् । कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । यसवर्ष पनि पाँचवटा सोमबार परेकाले भक्तजनहरुको भीड लागेको क्षेत्र विकास कोषले जानकारी दिएको छ । गलेश्वर मन्दिर परिसरमा भक्तजनको सुरक्षाका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ भने मन्दिरसम्म पुग्न पिच बाटो बनाइएको छ ।