गौंश्वारामा श्रीकृष्ण जन्माष्टमी मेला शुरु (फोटो फिचर)

0

म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित गौंश्वारामा सोमबारदेखि श्रीकृष्ण जन्माष्टमी मेला शुरु भएको छ । स्थानीय राधाकृष्ण सामुदायिक क्लबको आयोजनामा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर मेला सञ्चालन गरिएको हो ।

मेलाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सन्जु बरुवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले बेनी नगरपालिकाका सबै वडामा सडकको स्तरोन्नति गरी पक्की बनाइने र नगर क्षेत्रमा नगर बस सञ्चालन गरिने योजना रहेको बताए ।

उनले बेनी नगरपालिकाले पर्यटकीय एवं धार्मिक क्षेत्रको प्रशस्तै सम्भावना बोकेको हुँदा ती क्षेत्रका विकास र प्रचारप्रसारमा प्राथमिकता दिइएको बताएका छन् । नगर उपप्रमुख सन्जु बरुवालले बजेट घोषणा भएर आइसक्दा पनि अझै अख्तियारी नआएको हुँदा कार्यान्वयनमा समस्या भएको बताइन् ।

उनले वर्षात्का कारण अबरुद्ध नगर क्षेत्रका ग्रामीण सडकहरु दशैं अगाबै मर्मत गरी सुचारु गरिने बताउँदै जिल्लाको पर्यटकीयस्थलको प्रचारप्रसार लागि नगरपालिकामार्फत आवश्यक पहल गरिने बताएकी छिन् ।  मेलाको अवसरमा वडास्तरीय भलिबल, छेलो प्रतियोगिता, नृत्य, गीतसङ्गीतलगायत विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको क्लबले जानकारी दिएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु मन्जु विक, अर्जुन खड्का, कमला गैरे, जगत गौडेल, दिपेन थापा, बिशाल निउरे, प्रदीप बोहोरा, केबीकुमार जलन, बलु थापा, विन्दु सुनारलगायतले आ–आफ्नो प्रस्तुती दिने आयोजक क्लबले जनाएको छ ।

मेलाको उद्घाटन सत्रमा नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की, राधाकृष्ण सामुदायिक क्लबका संस्थापक अध्यक्ष भविन्द्रविक्रम शाह, अर्जुन उच्च मावि भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्री, ज्यामरुककोट समाजका कोषाध्यक्ष दिर्घप्रसाद शर्मा, डिएस फर्निचरका प्रोप्राइटर डम्बरबहादुर सापकोटा र राधाकृष्ण आधारभूत विद्यालयका अध्यक्ष डम्मरबहादुर खत्रीले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्लब अध्यक्ष कृष्णबहादुर घिमिरेको अध्यक्षता, संरक्षक रत्नबम मल्लको स्वागत र राधाकृष्ण विद्यालयका शिक्षक बद्रीप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । मेला आगामी बिहीबारसम्म सञ्चालन हुने बताइएको छ ।