बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा साउन महिनामा १३ लाख ७ हजार ५ सय २९ रुपैयाँ भेटी सङ्कलन भएको छ । साउन महिनामा परेका पाँचवटा सोमबारहरुमा भक्तजनहरुबाट उक्त भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।

उनका अनुसार पहिलो सोमबार ५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका थिएभने एकलाख ९२ हजार, दोस्रो सोमबारमा २ लाख ७४ हजार, तेस्रो सोमबार तीनलाख १० हजार रुपैयाँ, त्यर्सैगरी चौथो सोमबार एकलाख १३ हजार रुपैयाँ र अन्तिम सोमबार ४ लाख १५ हजार २ सय ३८ रुपैयाँ संकलन भएको थियो ।

भगवान् शिवको प्रिय महिना साउन र सोमबारका दिनहरुमा गलेश्वर शिवालयमा पुजाआजा गर्न भक्तजनहरुको घुइँचो लागेको थियो । साउनको पहिलो सोमबार अपेक्षा गरेभन्दा कम सङ्ख्यामा भक्तजहरु आए पनि दोस्रो र तेस्रो र पाँचौ सोमबारमा भक्तजनको आवागमनमा वृद्धि भएको थियो ।

यसैगरी चौथो सोमबार श्रावण शुक्ल पूर्णिमामा राती चन्द्रग्रहण लागेको हुँदा त्यसैको प्रभावले श्रद्धालु भक्तजनको उपस्थिति न्युन भएको थियो ।साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पुरा होस् भनी चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्दछन् ।