म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने बेनी नगरपालिका–८ मा अवस्थित बसपार्कलाई नमुना बनाउन डिजाइन सहितको गुरुयोजना सार्वजनिक गरिएको छ । करिव दुईदशक अगाडीको यातायातको चापलाई मध्यनजर गरी बनाइएको बसपार्कले क्षमता अनुसारको सवारीसाधन पार्किङ, प्रवेशद्धार देखी पेटो«ल पम्पसम्म ब्यवस्थापनमा केन्द्रित भएर तयार गरिएको गुरुयोजनामा समेटिएको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय र बेनी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा करिव ५ करोडको लगानीमा छरिएको टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र, साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवन लगाएत नमुना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधारलाई केन्द्रित गरी छलफल सुरू गरिएको बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए ।

प्रस्ताव गरिएको गुरुयोजनामा दैनिक २ सय सवारीसाधन भित्रिने भएपनि ३० वटालाई समेत पार्किङ गर्न नमिल्ने संरचना प्रस्ताव गरिएकोमा ट्राफिक प्रहरी र यातायात ब्यवसायी बस पार्कस्थलमा रहने सबै सवारीसाधनलाई पार्किङ गर्न मिल्ने गरी संरचना बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै छलफलमा बसपार्कमा रहेको बास्केटबललाई विस्थापत गर्न नमिल्ने बताए। गुरुयोजना तथा राय संकलनको क्रममा आर्टीटेक्ट ईञ्जिनियर राहुल प्रधानले बसपार्कको नक्साको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वमित्र कुईकेलले गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, इन्जिनियर गणेश बहादुर मर्हजन लगाएत स्थानीय जनप्रतिनिधि, कालिपुल आमा समुहका प्रतिनिधि लगाएत विभिन्न सरोकारावाला निकायको उपस्थिति रहेको थियो । करिव २७ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कलाई वडास्तरबाट समेत ब्यवस्थापन सुरू भएको छ ।