अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीको आयोजनामा झण्डै डेढलाख रुपैयाँ राहत सङ्कलन भएको छ ।

गत साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित बाढीपीडितहरुलाई लक्षित गरी राहत सङ्कलन गरिएको हो ।बिहीबार नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त सङ्कलित राहत रकम सार्वजनिक गरिएको छ ।

कार्यक्रममा अनेरास्ववियु म्याग्दीका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले सचिवालयको आकस्मिक वैठक बसेर तीनदिने अभियान सञ्चालन गरी राहत रकम जुटाइएको जानकारी दिए । उनले सदरमुकाम बेनीबजार, गलेश्वर र पर्वत बेनीलगायतका ठाउँमा अभियानमार्फत कुल एकलाख ४१ हजार १११ रुपैयाँ नगद सङ्कलन गरिएको बताए ।

सङ्कलित रकममध्ये २० हजार १२५ रुपैयाँ स्वतन्त्र विद्यार्थी युनियन मंगला शिक्षा क्याम्पस बाबियाचौरले सङ्कलन गरेको उनको भनाई छ । अध्यक्ष विश्वकर्माका अनुसार बाबियाचौर र बेनीलगायत ठाउँमा सङ्कलित रकम एकमुष्ठ गरी अनेरास्ववियु केन्द्रीय कमिटीले सञ्चालन गरेको नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कको खातामा जम्मा गरिएको छ ।

उक्त रकम केन्द्रीय कमिटीमार्फत बाढी प्रभावित क्षेत्रका पीडितहरुलाई सोही स्थानमा पुगेर वितरण गरिने अनेरास्ववियुले जनाएको छ ।‘जहाँ विपद्, त्यहाँ अनेरास्ववियु’ भन्ने मूल नारासहित पीडितलाई केही मात्रामा भए पनि सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरी राहत सङ्कलन गरिएको अनेरास्ववियुका जिल्ला सचिव सावित्रा खत्रीले बताइन् ।

राजनीति समाजसेवा भएको हुँदा सराकारात्मक सोचका साथ अगाडि बढेमा समाज परिवर्तन गर्न सकिने बताउँदै अनेरास्ववियु यही अभियान लिएर हिँडिरहेको म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत रहेकी खत्रीको भनाई छ।पत्रकार सम्मेलन कार्यक्रम अनेरास्ववियुका जिल्ला अध्यक्ष सुवास विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष ईश्वर सुवेदीको स्वागत र सचिव सावित्रा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपालको तराई क्षेत्र अन्नभण्डार मानिन्छ भने हालै आएको बाढीका कारण तराईका अधिकांश भू–भाग डुबानमा परेको छ । बाढीकै कारण हजारौं घर डुबानमा परेका छन्भने सयौं व्यक्ति बेपत्ता हुनुका साथै ज्यान गुमाउन बाध्य भएका छन् । यसैबीच अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलको नेतृत्वमा म्याग्दीबाटी चारजना युवाहरु यसअघि तराईको सर्लाही जिल्लामा पुगेर बाढीपीडितको उद्धारमा खटिरहेका छन् ।