एकैबर्षमा ३५ बेखबर

0
239

बैदेशिक रोजगारमा गएका श्रीमानले दुख गरेर कमाएको पैसा लिएर एक महिला बेपत्ता भईन् । श्रीमान घर विदामा आउने जानकारी पाएपछि बेपत्ता भएकी महिलाका आफन्तले प्रहरीमा निवेदन दिएका छन् । श्रीमानले विदेशबाट पठाएको पैसालाई ऋण भन्दा ब्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेको सुईको पाएपछि महिलालाई घरपरिवारबाट समेत निगरानी गर्न थालेपछि उनले दोस्रो विवाह गरेर गएको अनुमान गरिएको छ । म्याग्दीकै एक पुरुष बेपत्ता भए ।

आर्थिक अवस्था कमजोर, परिवारको तनाव, साहुको ताकेता लगाएत विभिन्न कारणले विना जानकारी सम्पर्क विहिन भएपछि परिवारले हराएको निवदेन दिएर प्रहरीलाई सहयोगको अनुरोध गरे ।गत आर्थिक बर्षमा प्रहरीमा दर्ता भएका दुई प्रतिनिधिमुलक घटना मात्रै हुन् । जिल्लामा बर्षेनी बालबालिका संगै हराउने महिला, पुरुषको संख्या बढ्न थालेको छ ।

परिवारको सुन्दर सपना लिएर खाडीमुलुक पुगेका, दैनिक ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्ने, अन्तरजातीय विवाह, श्रीमान– श्रीमति विचको विवाद, घरपरिवारको गलत सन्देशका कारण शाररीक तथा मानसीक तनाव लगाएतका कारण बेपत्ता हुनेको संख्या बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा गत आर्थिक बर्ष ०७३÷०७४ मा ३६ जना महिला, १३ जना पुरुष, बालबालिका ५ जना रहेका छन् । जसमा १४ जना महिला, ४ जना पुरुष, १ बालक फेला परेको प्रहरी तथ्याङ्कले देखाउँछ । ‘हराएको निवेदन ल्याएर आउने धेरै छन्, भेटिएको जानकारी गराउँदैनन्’ प्रहरी निरिक्षक सन्तोष रोकाले भने ।

उनले निवेदन दिन आउनेलाई फेला पारेपछि जानकारी गराउन अनु्रोध गरिएपनि बेवास्ता गर्ने गरिएको  बताए । दुईबर्ष अगाडीसम्म महिला सेलमा समेत हराएको विवरण मात्रै उल्लेख गरिएपनि गत आर्थिक बर्ष देखी फेला परेको विवरण समेत राखिएको प्रहरीले जनाएको छ । दोस्रो विवाह गरेर जाने महिला र परिवारको असहमतिमै विवाह गर्ने यूवती सम्पर्कविहिन हुने गरेका छन् । छोराछोरीसंगै बेपत्ता हुने महिलाको खोजी गर्ने क्रममा धेरैजसो माईती, आफन्त र केहीले दोस्रो विवाह गरेको समेत फmेला परेको प्रहरी स्रोतको भनाई छ ।

जिल्लामा मासिन हराउने समस्यालाई डरलाग्दो सामाजिक समस्याको रुपमा हेर्ने गरिएको छ ।जिल्लामा बर्षेनी ३० जनाको हाराहारीमा पुरुष–महिला हराउन थालेपछि गतबर्ष प्रहरीले विषेश प्राथमिकताका साथ सुरू गरेको अनुसन्धानको क्रममा अधिकांसका श्रीमान बैदेशिक रोजगारमा विदेशमा देखिएको, गरिवी, अशिक्षा, बेरोजगार, घरेलु हिंसा, आर्थिक हिनामिना र प्रलोभन, अनैतिक सम्बन्ध, असुरक्षित गर्भ प्रमुख कारण रहेको जनाएको थियो ।

विदेशबाट श्रीमानले पठाएको आर्थिक हिनामिनामा संलग्न पुरुषले अन्तिम विकल्पका रुपमा महिलालाई श्रीमतिको रुपमा स्वीकार गर्ने गरेको समेत पाइएको छ । बेपत्ता हुने महिला  ग्रामिण क्षेत्रका रहेका छन् । समाजमा विभिन्न संघसंस्थामा आवद्ध भएका तथा घरायसी काममा ब्यस्त रहेका महिला एकाएक बेपत्ता हुन थालेपछि महिला अधिकारकर्मीले समेत चिन्ता ब्यक्त गरेका छन् ।

धार्मिक परम्परा अनुसार विवाह गरेका यूवतीहरू समेत माईती पक्षको आर्थिक अवस्था कमजोर भएकै कारण अपेक्षा गरे अनुसारको दाईजो ब्यवस्थापन गर्न नसक्दा शाररीक तथा मानसिक यातना दिएपछि मध्यरातमा सम्पर्क विहिन हुनुपरेको म्याग्दी बहुमुखी क्याम्पसकी सहायक प्रमुख रेखाकौशल रेग्मीले बताईन् । ‘महिलाको कमजोरीले मात्रै बेपत्ता हुन्छन भन्ने गलत छ । पुरुषले दिने यातनाका कारण पनि धेरै महिलाले घर छोड्नुपरेको छ’ महिला मानव अधिकार रक्षककी सभापति समेत रहेकी रेग्मीले भनिन् । उनले समाजमा सम्मानजनक हैसियतमा रहन खोज्ने महिलालाई समेत परिवारबाटै दवाव र यातना दिने गरिएको घटना समेत आफुँ समक्ष आएको बताए ।

उनले विगतका तुलनमा आगामी बर्षमा यस्ता घटना न्यूनिकरण हुने दावी समेत गरिन् । समाजमा महिलालाई दोष दिएर पुरुष उम्कने प्रयास गरिरहेकै कारण यस्ता घटनाको बास्तविकता पहिचानमा समस्या भइरहेको अधिकारकर्मीको भनाई छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, खुल्ला र महिला सदस्यमा चुनिएका जनप्रतिनिधिहरूलाई समेत आफ्ना समस्याहरूका बारेमा खुलेरै जानकारी गराउने गरी स्थानीय तहमै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिईन् ।

उनले महिला सम्बन्धि कार्यक्रमहरूलाई समेत सहरभन्दा ग्रामिण केन्द्रि बनाउन सकेमा महिला हिंसा न्यूनिकरणमा सघाउने बताईन् । बर्षेनी महिला र यूवती हराउने गरेको अवस्थामा मानवतस्करको फन्दामा परेको अनुमान गरिएपनि अहिलेसम्म कुनैपनि प्रमाण प्रहरी समक्ष भेटिएको छैन् । जिल्लाबाट बर्षेनी भारत हुदै खाडी मुलुक जाने महिलाको संख्या धेरै रहेको पनि परिवारको सल्लाह अनुसार नै बैदेशिक रोजगारमा जाने गरेको पाइएको छ ।