म्याग्दीको सदरमुकाम बेनीमा सक्रिय लायन्स क्लव अफ बेनी पिस सिटीले बहुमुल्य बोधिचित्त रोपणमा सामुदायिक बनलाई सघाएको छ । स्थापनाकालको छोटो समयमा स्थानीयको आयआर्जनको माध्यमका रुपमा रहेको बोधिचित्तलाई बेनी नगरपालिका– ५ डम्बरा सामुदायिक बनबाट अभियानको रुपमा सुरु गरेको क्लवका अध्यक्ष राजेश शाक्यले बताए ।

‘स्थानीयलाई भविस्यमा मनग्य आम्दानी गर्न सक्छन् । आगामी दिनमा समेत थप विरूवा सहयोग गर्नेछौ’ शाक्यले भने । उनका अनुसार विगतमा समेत क्लवले सोही सामुदायिक बनमा दुईचरणमा ७० विरुवा लगाएर लायन्स जंगल घोषणा गरेको थियो । लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ ‘वि’ १ अन्र्तरगत स्थापना भएको क्लवले जिल्लामा पहिलोपटक बोधिचित्तको विरूवाको सामुदायिक बन र स्थानीयबासीलाई हस्तान्तरण गरेको थियो । जिल्लामा बोधिचित्तको सम्भावना देखिएपछि क्लवले थप अन्य सामुदायिक बनको छनौट गरी स्थानीयको नियमित रेखदेख हुने गरी विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

बुद्ध धर्मालम्बीहरू जप गर्दा प्रयोग गरिने पवित्र माला बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ । बोधिचित्तको मालाबाट जप, ध्यान र मन्त्रोच्चारण गर्दा चिताएको पुग्ने, सिद्धि प्राप्त हुने र अन्जानमा गरेको पाप काटिने र मृत्युपछि पनि शान्ती प्राप्त हुने विश्वास रहेकाले पनि नेपालका केही जिल्लामा यसको ब्यवसायीक खेतीबाट रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

विषेशगरी तिब्वती धार्मिक गुरू दलाई लामाका अनुनायीले बोधिचित्तलाई अन्र्तराष्ट्रियस्तरमा विक्री तथा प्रयोगमा ल्याउन थालेपछि नेपालमै एउटै रुखबाट ३ लाख देखी ६० लाखसम्म आम्दानी समेत गरेका थिए । समुन्द्र सतहबाट ४ सय देखी २५ सय मिटरसम्म लगाउन सकिने भएकाले म्याग्दी जिल्लाको जमिन तथा माटो समेत बोधिचित्तका लागि उपयुक्त मानिन्छ । बोधिचित्तको विरुवा लगाएको २ देखी ३ बर्षभित्र बर्षमा दुईपटक फल दिन्छ ।

चैत्र– बैशाख, साउन– भदौमा दुईपटक फुल्ने र असार–साउन र असोज–कात्तिकमा पाक्ने गर्दछ । एउटै रुखबाट लाखपती बन्न सकिने भएकाले पनि रोपिएका विरुवाको संरक्षण गर्न डम्बराबासीले प्रतिबद्धता जनाएका छन् ।

नेपालमा उत्पादन भएको दाना र मालाहरू चिन, जापान, भियतनाम, थाईल्याण्ड, कोरिया, भारत, अमेरिका, बर्मा लगाएतका देशमा निर्यात हुने गर्दछ । जिल्लामा बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिकाको तल्लो क्षेत्रमा रातो माटो भएकाले धेरै क्षेत्रमा यसको सम्भावना रहेको छ । एउटा विरुवा हुर्किसकेपछि खासै हेरचाहको आवश्यकता नपर्ने भएकाले पनि म्याग्दी जस्तो पहाडी जिल्लामा अझै उपयोगी मानिन्छ । यसैविच क्लवले आयआर्जन, आर्थिक अवस्था कमजोर भएकालाई आपतकालिन उपचार कोष, गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक अभिभावक, स्वास्थ्य शिविर लगाएतका सामाजिक कार्यमा सहयोग गरेको छ ।