म्याग्दीमा विपद् जनसेवा व्युरो गठनको तयारी शुरु

0
249

भू–क्षय, बाढीपहिरो र प्राकृतिक प्रकोपको जोखिम रहेको म्याग्दी जिल्लामा विपद् जनसेवा व्युरो गठनको तयारी थालिएको छ । दैवी प्रकोपका रुपमा वर्षैपिच्छे घट्ने घटनाको न्युनीकरणका लागि स्थानीय तहमै त्यसको व्यवस्थापन गर्नका लागि तयारी शुरु गरिएको हो ।

सोमबार जिल्ला दैवी प्रकोप उद्धार समिति म्याग्दीको आयोजनामा नगर तथा गाउँपालिकाको वडास्तरीय विपद् जनसेवा व्युरो गठनसम्बन्धी विषयमा जनप्रतिनिधिहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको छ । जिल्ला, नगर, गाउँ र वडा तहमा हुने दैवी प्रकोपका घटनालाई न्युनीकरण गर्न तथा जोखिम घटाउन स्थानीय तहबाटै विपद् व्यवस्थापनको योजना बनाउन विपद् जनसेवा व्युरो गठन कार्यक्रमलाई अगाडि सारिएको बताइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले दैवी प्रकोपका घटनाहरुलाई न्युनीकरण गर्न र जोखिमको आँकलन गरी सम्बन्धित निकायमा आधिकारीक जानकारी पठाउन विपद् जनसेवा व्युरो गठन कार्यक्रम ल्याइएको जानकारी दिए । उनले विपद्को समयमा तत्काल उद्धारका सामाग्री जुटाउन, स्वयंसेवकहरु परिचालन गर्नेलगायत आवश्यक पूर्वतयारी गरिने बताएका छन् ।

क्षेत्रीय प्रशासक अर्यालका अनुसार स्थानीय तहमा विपद्को जोखिमलाई सोही ठाउँबाट नियन्त्रणमा लिनलाई विपद् जनसेवा व्युरो गठन गरिने र त्यसभित्र नगर क्षेत्रमा प्रमुख तथा वडा तहमा वडाध्यक्षको नेतृत्वमा स्थानीय राजनीतिक दल, रेडक्रस, जनप्रतिनिधिलगायत रहने छन् । स्थानीय तहको विपद् जनसेवा व्युरोले जोखिमको मूल्याङ्कन गरी पीडितलाई स्थानान्तरण र राहत वितरण, सम्बन्धित निकायमा जानकारी पठाउने, विपद्मा परेका घाइतेको उद्धार एवं उपचार लगायतका कामहरु गर्नसक्ने क्षेत्रीय प्रशासक अर्यालको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले समाजमा विपद् जुनसुकै बेलामा पनि आउन सक्ने भएको हुँदा सबै त्यसको नियन्त्रणका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । उनले स्थानीय तहको विपद् व्यवस्थापनका लागि जिल्लाबाट आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमको समापन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले विपद् आएको खण्डमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन र न्युनीकरणमा लाग्न सुझाव दिएका छन् । प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले विपद् जनसेवा व्युरो गठनबारे उद्देश्यमाथी प्रकाश र स्वागत गरेको कार्यक्रमको सञ्चालन जिससका कार्यकारी सचिव राजेन्द्र आचार्यले गरेका थिए ।

उक्त कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन, मङ्गलाका उपाध्यक्ष सिर्जना केसी, मालिकाका खरमाया बिटालु, अन्नपूर्णका केशमाया मगर र अन्नपूर्ण–६ का वडाध्यक्ष कृष्णबहादुर बरुवालले आ–आफ्नो क्षेत्रमा विपद् व्यवस्थापनका लागि विनियोजन, बजेट तथा कार्यक्रम र न्युनीकरणको प्रयासको बारेमा जानकारी गराएका थिए । जिल्लामा विपद व्यवस्थापन गर्न वडा तहसम्मै विपद जनसेवा व्युरो गठन गरिने भएको छ ।

अहिलेको अवस्थामा विपद् नियन्त्रणका लागि केन्द्रमा प्रधानमन्त्रीको संयोजकत्वमा केन्द्रीय दैवी प्रकोप उद्धार समिति, क्षेत्रमा क्षेत्रीय प्रशासकको संयोजकत्वमा र जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति रहेको छ ।

यसैबीच क्षेत्रीय प्रशासक अर्यालले जिल्लामा क्रियाशिल राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, सुरक्षा समिति र पत्रकारसँग भेटघाट गरी जिल्लाको वस्तुस्थिति, प्राकृतिक प्रकोपको अवस्था, स्थानीय तह सञ्चालन र कामकार्वाही, जनताको समस्यालगायतका बारेमा जानकारी लिएका छन् ।