मुटु रोगबाट ग्रसित निस्कोटकी सम्झना दर्जीलाई उपचारमा समस्या

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटकी मुटुसम्बन्धी रोगबाट ग्रसित १२ वर्षीया सम्झना दर्जीको उपचारमा आर्थिक समस्या देखिएको छ । निस्कोट छिसकी दर्जीको उपचारको क्रममा मुटुमा समस्या देखिएपछि नियमित चेकजाँच, यातायात खर्च लगाएत खाना बस्न, औषधी उपचारका लागि समस्या देखिएपछि सहयोगको याचना गरिएको छ ।

‘आर्थिक अवस्था निकै कमजोर छ। सानो सहयोगले दर्जीको उपचारमा सहज हुन्छ’ सिद्ध आधारभुत विद्यालयका प्रअ मोतिराज गौतमले भने । उनले आमाले दोस्रो विवाह गरेको र पिताले समेत दोस्रो विवाह गर्नुका साथै घरको आर्थिक अवस्था समेत नाजुक रहेकाले उपचारमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई अपिल समेत गरिएको छ ।

यसैविच दर्जीको चेकजाँच र यातायात खर्चका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । शान्ति कोषका अध्यक्ष राजेश शाक्यले नारच्याङका विशाल बुदुजामार्फत सम्झनाकी आमा सुनमाया दर्जीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

उनले आर्थिक अभावकै कारण मृत्युवरण गर्नु नपरोस् भन्ने मान्यताका साथ स्थापना भएको कोषले बालिकाको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । अप्रेसन सहित नियमित चेकजाँच र उपचारमा समेत खर्च हुने भएकाले करिव २ लाख खर्च हुने अनुमान गरिएको छ । मुटुमा प्वाल परेर समस्या देखिएपछि पीडित दर्जीको काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार शुरु गरिएको छ ।